समाज

जन्मदिनमा केक खाँदा बालिका बिरामी

साबुनले हात धुँदा समेत नगएको केकको कलर।

जन्म दिनमा केक खाँदा एक बालिका बिरामी परेकी छिन्। केकमा बढी कलर मिसाएका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ नेवारेस्थित सिवानी केसी जन्मदिन मनाए लगत्तै बिरामी भइन्। ज्वरो आउने र बान्ता हुने लक्षण देखियो। उपचारपछि सिवानीलाई दुई दिनपछि ठिक भयो। वीरेन्द्रनगरमा रहेको मनकमल बेकरीबाट लगिएको केक खाँदा ज्वरो र बान्ता भएपछि चेकजाँचको लागि बेकरीविरुद्ध गुनासो गरेपछि छानबिन गरिएको थियो।

सिवानीका बुवा शुसिल केसीले केकमा कलर मिसावट बढी भएको भन्दै गुनासो गरे। केकको कलर लागेको हात साबुनले धुँदा समेत नगएको केसीले बताए। गुनासो गरेपछि अन्य केकभन्दा सिवानीको जन्मदिनमा लगेको केकमा कलर बढी मिसाएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ।

बजारमा पाइने केकमा कलरकै कारण आफ्नो छोरी बिरामी भएको आफुले चेकजाँचका लागि गुनासो गरेपनि कार्यालयबाट चित्तबुझ्दो नभएको प्रतिक्रिया शुसिल केसीले दिएका छन्। बजारमा पाइने हरेक सामान प्रयोग गर्दा उपभोक्ता सचेत हुनुपर्ने उनको भनाई छ।

केक खाएर बिरामी भएको गुनासो आएपछि स्थलगत रुपमा निरीक्षकका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेष बहादुर थापा आफै पुगेका थिए। सबै पसलका सबै केकहरू चेकजाँच गरेको र गुनासो आएको केक पनि चेकजाँच गर्दा पसलको भन्दा ग्राहकले लगेको केकमा बढी कलर भएको पाइएको भेष निमित्त कार्यालय प्रमुख भेष बहादुर थापाले बताए।

‘केक पसलमा गएर चेक गर्दा खान मिल्ने कलर प्रयोग गरेको पाइयो।’  निमित्त प्रमुख थापाले भने, जहाँ गुनासो भएको थियो त्यहाँ कलर बढी प्रयोग गरेको पाइएको छ। पसलमा कलर प्रयोग गर्दा सावधानी अपनाउन सचेत गराइएको छ।’ कलर चेक गर्ने श्रोत साधन सुर्खेतमा छैन। जसका कारण पनि केकमा कति मात्रामा कलर मिसाइएको थियो त्यसबारे कार्यालयले प्रष्ट जवाफ दिन सकेको छैन। 

प्रकाशित: १८ आश्विन २०८१ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App