समाज

भत्किएका सडक र पुल बनाउन २५ अर्ब

यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण भत्किएका सडक र पुल मर्मत तथा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्रारम्भिक अनुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको र हालसम्मको प्रारम्भिक अनुमानअनुसार भत्किएका सडक तथा पुल मर्मत र पुननिर्माणका लागि २५ अर्ब रुपैयाँसम्म खर्च लाग्ने जानकारी गराएको हो। मन्त्रालयले भत्किएका सडक र पुलमा अस्थायी रूपमा यातायात सञ्चालन गर्न मात्र साढे दुईदेखि तीन अर्ब रूपैयाँ लाग्ने देखिएको जनाएको छ।

मन्त्रालयका अनुसार देशभरि ३४ वटा राजमार्गको आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको अवरोध खुलाएर २९ वटा राजमार्गमा यातायात सेवा नियमित गरिसकिएको छ। अझै पाँचवटा राजमार्गको ३१ स्थानमा अवरोध कायमै रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताए।

उनका अनुसार अवरुद्ध स्थानमा पहिरो हटाउने काम भइरहेको छ। कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखेर अवरोध खुलाउने काम भइरहेको छ।

काठमाडौंबाट छुट्ने यात्रुवाहक बसलाई सडकको अवस्था र परिस्थिति हेरी उज्यालो समयमा नै निश्चित दुरी पार गर्नेगरी समन्वय गरिएको मन्त्रालयले जनाएको छ। यात्रुको सहज आवागमनका लागि असोज १४ देखि कोजाग्रत पूर्णिमासम्म सवारीसाधनको रुट परमिट नेपालभर खुला गरिएको मन्त्रालयले जनाएको छ।

कहाँकहाँ छ अवरोध?

मन्त्रालयका अनुसार अरनिको राजमार्गअन्तर्गत लार्चा–कोदारी खण्डको पाँच किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रिज बाढीपहिरोले बगाएका कारण सडक अवरुद्ध भएको छ।

लार्चामा ह्युम पाइप, पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। बिपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डको १८ किलोमिटरमा करिब १२ किलोमिटर सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ।

उक्त खण्डको १२ किलोमिटर सडक बाढीपहिरोले बगाएका कारण बीचबीचमा सवारीसाधन रोकिएका छन्। दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको, रोशी खोलाको पानीको बहावलाई ध्यानमा राखी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरेर अस्थायी रूपमा यातायात सञ्चालन गरिने तयारी भएको मन्त्रालयले जनाएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम खण्डमा ८० किलोमिटर क्षेत्रको धेरै ठाउँमा पहिरो गएर सडक वासआउट भएको छ। उक्त खण्डमा दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको मन्त्रालयले जनाएको छ। यस खण्डमा सडक सफा गरी वर्दिवासबाट बिपी राजमार्ग भएर आउने सवारीसाधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराउनेगरी काम भइरहेको मन्त्रालयका उच्च कर्मचारीले बताएका छन्।

यसैगरी कान्ति राजपथको घपेली–बगुवा खण्डमा १३ किलोमिटर र बागमती पुलमा क्षति भएको छ। कान्ति राजपथको मकवानपुर तथा ललिपतुर दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ।

मन्त्रालयका अनुसार बाममती पुलको एप्रोच छिटोभन्दा छिटो निर्माण गरी सवारीसाधन सञ्चालन नियमिति गरिने छ। यसैगरी मेची राजमार्गको रमिते–फिदिम खण्डअन्तर्गत आठ किलोमिटर सडकमा क्षति पुगेको छ। उक्त राजमार्गको रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ। हेवा खोलाको पुलमा पनि क्षति भएकाले अस्थायी डाइभर्सन बनाएर सवारी साधन सञ्चालन गराउने तयारी भइरहेको छ।

मन्त्री दाहालले पृथ्वी र बिपी राजमार्गमा अकल्पननीय क्षति भएको बताउँदै भने, ‘प्रकृतिको अगाडि कसैको केही लाग्ने रहेनछ।’ मन्त्रालयका सचिव केशव शर्माले बिपी राजमार्ग खुलाउन विभिन्न विकल्पमा प्रयास भइरहेको बताए।

प्रकाशित: १८ आश्विन २०८१ ०६:५५ शुक्रबार

# akalpaniya kshati #Vatkiyeka sadak ra pul