समाज

फोक्सिन्टारको पुल बगेपछि लम्बियो खोटाङवासीको यात्रा

गाईघाट–दिक्तेल जोड्ने फोक्सिन्टार पुलको फाइल तस्बिर ।

अविरल वर्षापछिको बाढीले सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोशी नदीको पक्की मोटरेबल पुल बगाएपछि खोटाङवासीलाई घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा–फर्पिङ हुँदै काठमाडौं आउजाउ गर्नुपर्ने बाध्यता आईपरेको छ ।  

गाईघाट–दिक्तेल सोझो यातायात चल्दै आएको सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटेहाङ गाउँपालिका ३ फोक्सिन्टार पुल बगेका कारण दक्षिण–पूर्वी भेगका खोटाङवासीलाई दोब्ब्रभन्दा बढी दूरी पार गर्दै घुर्मी नाकामार्फत काठमाडौँ आउजाउ गर्नुपर्ने निर्विकल्प अवस्था आईपरेको हो ।  

घुर्मीमा उदयपुरको कटारी नगरपालिका १४ र ओखलढुङ्गाको हर्कपुरबीच सुनकोशी नदीमा फलामे ट्रस प्रविधिमा निर्मित पुल पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत एक दशकअघि सञ्चालनमा आएको हो । झण्डै डेढ दशक लगाएर ३ वर्षदेखि सञ्चालन हुन थालेको फोक्सिन्टारको पक्की पुल बाढीले बगाए पनि दशकअघि बनेको घुर्मीको ट्रस पुल भने सञ्चालनमा छ ।  

फोक्सिन्टारको पक्कीसँगै बीचबीचका आधादर्जन झोलुङ्गे पुलहरु पनि बाढीले बगाएका कारण काठमाडौंँ आउजाउ गर्ने घुर्मी नाका एक मात्र विकल्प बाँकी रहेको खोटाङ यातायात प्रालिले जनाएको छ । प्रालिका महासचिव राजकुमार हिङमाङे सदरमुकाम दिक्तेलदेखि घुर्मी–सिन्धुली–बर्दीबास–हेटौँडा हुँदै काठमाडौँ गाडी सुचारु भएको बताए । सो रुट भएर काठमाडौंसहित विभिन्न ठाउँ आउजाउ गर्न एकतर्फी १५ घण्टा लामो यात्रा गर्नुपर्ने भएको छ, जव कि यसअघि ५ देखि ७ घण्टामा काठमाडौंको एकतर्फी यात्रा सकिन्थ्यो ।  

घुर्मी–खुर्कोट–नेपालथोक–धुलीखेल हुँदै राजधानी जोडिएको साविक बिपी लोकमार्गको आधादर्जन बढी ठाउँ भत्केर अवरुद्ध भएकाले घुर्मीदेखि सिन्धुली, महोत्तरीको बर्दीबास, मकवानपुरको हेटौँडा–फर्मिङ हुँदै काठमाडौँ आउजाउ गर्नुपरेको हिङमाङ बताउँछन् । दशैँ, तिहार तथा छठजस्ता चाडपर्व नजिकिएका कारण जुनसुकै विकल्प अपनाउँदै पनि यातायात सञ्चालन गर्नैपर्ने बाध्यता आईपरेकाले बुधबारदेखि नियमित बस चलाउन थालिएको हो ।

मध्यपहाडी लोकमार्गले घुर्मीदेखि खोटाङको हलेसी–दिक्तेल हुँदै भोजपुर सीमा चखेवाभन्ज्याङ जोडिएको छ । दिक्तेल र आसपासका नागरिकलाई घुर्मी नाका भएर काठमाडौँ आउजाउ गर्न केही सहज भए पनि दक्षिण–पूर्वी भेगका नागरिकलाई निकै लामो र घुमाउरो यात्रा गर्न बाध्यता आईलागेको छ । त्यसमाथि दिक्तेलसम्म जोडिएका आन्तरिक सडकहरु सबै पहिरोले ध्वस्त बनाएका कारण थप समस्या परेको प्रालिले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य रामकुमार राईले जिल्लाबासीलाई चाडबाडका बेला सहज आउजाउ गर्न दशैँअघि नै दिक्तेल–घुर्मी–खुर्काेट–काठमाडौँ सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सरकारसँग माग गरे पनि जवाफ नआएको बताए । सांसद राईले सर्वपक्षीय, सर्वदलीय प्रतिनिधित्वमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गर्दै तत्काल मर्मत गरेर सडक सुचारु गर्न गृहमन्त्रालयलाई पत्राचार गरिएको बताए ।  

दिक्तेल–काठमाडौँ एकतर्फी भाडा २५ सय  

खोटाङ–काठमाडौँ आउजाउ गर्न नयाँ भाडादर पनि कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, प्रहरी, यातायात व्यवसायी र मजदुर प्रतिनिधित्वको सर्वदलीय, सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको हो ।  

जसअनुसार दिक्तेलबाट काठमाडौँ तथा काठमाडौँदेखि दिक्तेलसम्म एकतर्फी भाडा प्रतिव्यक्ति २ हजार ५ सय तोकिएको छ । खोटाङ यातायात प्रालिका बुकिङ ईन्चार्ज अमिर अधिकारीका अनुसार सर्वपक्षीय बैठकले भर्खरै सो भाडादर कायम गरी लागू भएको हो ।  

प्रकाशित: १७ आश्विन २०८१ १५:१९ बिहीबार

#फोक्सिन्टारको पुल #लम्बियो खोटाङवासीको यात्रा #सुनकोशी नदी