समाज

भरतपुर कारागारमा दिर्घरोगका बिरामी थपिँदै, उपचारको बजेट घट्दै

चितवनको भरतपुर कारागारमा दिर्घरोगका बिरामीको संख्या बढ्दै गएको छ। अन्य जिल्लामा भन्दा भरतपुरमा उपचारको सहज पहुँच भएका कारण बाहिरी जिल्लाबाट बिरामी कैदिबन्दी आउने हुनाले संख्या बढ्दै गएको हो।

‘चितवनमा क्यान्सर अस्पताल, सङ्घीय अस्पताल र दुई वटा मेडिकल कलेज भएकाले अन्य जिल्लाबाट पनि दिर्घरोग लागेका कैदीबन्दी पठाउने प्रचलन छ’, भरतपुर कारागारका कार्यालय प्रमुख कमलप्रसाद आचार्यले भने ‘१७ प्रतिशत कैदीबन्दी त नियमित औषधी सेवन गर्ने हुनुहुन्छ।’

आचार्यका अनुसार भरतपुर कारागारमा नियमित औषधी सेवन गर्ने कैदीबन्दीको संख्या १ सय २५ पुगेको छ। जसमध्ये नियमित औषधी सेवन गर्ने पुरुषको संख्या १ सय ५ र महिलाको संख्या १९ रहेको छ। यहाँ सबैभन्दा बढी उच्च रक्तचापका बिरामी ६० जना रहेका छन्। त्यस्तै मधुमेहका २६, क्षयरोगीका ११, मानसिक रोगीका ७, मुटु रोगीका ५, एचआइभी एड्स सङ्क्रमित, छारे रोग, हेपाटाइटिस बिका समान ४/४ जना, थाइराइडका ३, र क्यान्सरका २ जना बिरामी रहेको कारागार प्रमुख आचार्यले जानकारी दिए।

बिरामी बढ्दै गएपछि आवश्यक औषधी दिन समेत नसकेको उनले बताए। ‘नियमित औषधी सेवन गर्ने बिरामी उत्तिकै हुनुहुन्छ, सिजनल बिरामीको संख्या उतिकै हुन्छ,’ उनले भने ‘बजेट अभावमा औषधी पु¥याउन नै कठिन छ।’ कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव हुने गरेको बताए।

उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका बिरामीलाई नियमित औषधी खुवाउनुपर्ने हुन्छ । यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधी किन्नुपर्ने हुन्छ। तर, कारागार विभागले तीन गुणा बजेट घटाएर पठाएको छ। चार वर्षअघि ४८ लाख रुपैयाँ बजेट पठाएकोमा  चालु आर्थिक वर्षका लागि १० लाख  लाख मात्रै बजेट विनियोजन भएको आचार्यले बताए। अघिल्लो वर्ष १३ लाख पठाएको थियो। यसभन्दा अघिल्लो २४ लाख पठाएको जनाउँदै आचार्यले कैदी बन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको जानकारी दिए।

‘हामीसँग क्यान्सर लागेका बिरामी समेत हुनुहुन्छ उहाँहरुको उपचार गर्नु हाम्रो दायित्व पनि हो’, उनले भने ‘तर, हामीले औषधी खुवाउन सक्ने अवस्था छैन।’ कारागारले स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधी जुटाउने गरेको बताए। ‘रकम अभाव भएपछि विभिन्न सङ्घसंस्थाबाट पहिले औषधी ल्याएर पछि पेश गर्ने गरेका छौँ’, उनले भने ‘हामीले मिलेसम्म कर्मचारीको पेस्की रकमबाट समेत कैदीबन्दीको उपचार गरेका छौँ।’  भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीको हकमा ज्यादै कठिन भएको उनले बताए। अहिले आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधी किनेर खान थालेका छन्। 

कारागारमा ७ सय ५७ जना कैदीबन्दी रहेका छन्। त्यसमध्ये ८७ जना महिला रहेका छन्। यस्तै नाबालक र नबालिका गरी ३ जना रहेको उनले बताए। यो संख्या क्षमताभन्दा ज्यादै धेरै रहेको उनले जानकारी दिए। भरतपुर कारागारको क्षमता भने ३ सय ५५ जनाको रहेको छ । अघिल्लो वर्ष यहाँ ८ सय ५ जनासम्म कैदीबन्दी पुगेका थिए।

कैदी र थुनुवा गरेर जवरवस्तीकरणी सम्बन्धी मुद्दाका सबैभन्दा धेरै १ सय ८६ जना रहेका छन्। त्यसपछि लागुऔषध सम्बन्धी मुद्दाका १ सय ७९, कर्तव्य ज्यान सम्बन्धी मुद्दाका ८०, चोरी सम्बन्धी मुद्दाका ७७, गैँडाको खाग बिक्री वितरण सम्बन्धी मुद्दाका ६२, सवारी ज्यान सम्बन्धी मुद्दाका ६१, ठगी सम्बन्धी मुद्दाका ३४, डाँका सम्बन्धी मुद्दाका १७, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका १२ जना रहेका छन्।

त्यस्तै कारागारमा जिउ मास्ने मानवबेचविखन, अपहरण, केही सार्वजनिक अपराध, हातहतियार खरखजना, काठ चोरी, बाघ, वन्यजन्तु चोरी सिकार, गौबध, खोटाचलान, बहुविबाह, सालकको अखेटोपहार लगायतका केशमा परी कैद जीवन बिताएका मानिस समेत छन्। 

प्रकाशित: १७ आश्विन २०८१ १५:१७ बिहीबार

#Karagar