समाज

नावाखोलामा अस्थायी डाइभर्सन बनाएर यातायात सुरु गर्ने तयारी

तमोर कोरिडोर चतारा–मूलघाट–सुभाङखोला सडक योजना कार्यालयले नावाखोलामा पानीको बहाव घटे तत्कालै अस्थायी डाइभर्सन बनाएर पाँचथरको गणेशचौकसम्म यातायात सुरु गर्ने तयारी गरेको छ।

सडक योजना कार्यालयका प्रमुख प्रदीप निरौलाले नावाखोलामा अस्थायी डाइभर्सनका लागि ह्युमपाइप आइसकेको र खोलामा पानीको बहाव घट्नासाथ डाइभर्सन बनाउने काम हुने बताए। ‘मुख्य समस्या भनेकै नावाखोलामा हो,हामी तमोर कोरिडोरमार्फत गणेशचौक सम्म ठूला सवारी समेत चल्ने गरी योजना अघि बढाइरहेका छौँ’ पाँचथरको फिदिममा भेटिएका निरौलाले भने।

उनले नावाखोलामा पानीको सतह घट्नासाथ अस्थायी डाइभर्सन निर्माण कार्य थाल्न सबै तयारी गरिएको बताए। त्यसका लागि सडक योजना कार्यालयले निर्माण उपकरण समेत तयारी हालतमा राखेको जानकारी दिए। पाँचथरको जोरसाल हुँदै फिदिम नगरपालिका वडा नं ४ माझीटार निस्कने बाटोमा भने हेंवाखोला नजिक बाढीले सडक मार्ग नै बगाएका कारण त्यो सडक मार्ग अवरुद्ध छ।

पाँचथरको गणेशचौक नजिक सम्म सवारी आइपुग्दा ताप्लेजुङतर्फ जान–आउनका लागि भने खास समस्या छैन। पाँचथरको हेंवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्डमा भने सवारी यातायातको आउजाउ रोकिएको छ। मेची राजमार्गको रमिते भन्ने स्थानमा खसेको पहिरो पन्छाएर बुधवार अपराह्न देखि एकतर्फी यातायात सुरु गरिएको छ।

थप पहिरो नखसे अब मेची राजमार्ग हुँदै झापाको बिर्तामोडबाट पाँचथरको फिदिम सम्म साना सवारीको आउजाउ हुनसक्ने भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। पूर्ण रुपमा सडक सञ्चालनमा आउन भने केही समय लाग्ने देखिएको भट्टराईले बताए। पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले रमितेमा खसेको पहिरो पन्छाएर साना सवारीको एकतर्फी यातायात सुरु भएपनि सो मार्ग हुँदै ठूला सवारी भने तत्काल सञ्चालनमा आउन सक्ने अवस्था नरहेको बताए। 

उनले हेंवाखोलाका लागि भने यातायातका लागि तीन चरणका विकल्प अपनाएर योजना अघि बढाइएको जानकारी दिए। उनले हेंवाखोलामा फड्के लगाएर मानिस र मोटरसाइकल वारपार गराउने योजना अन्तिम चरणमा पुगेको जानकारी दिए। अहिले त्यहाँ पाँचथरस्थित नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा बाँसको फड्के लगाउने कार्य भइरहेको छ। 

कार्यस्थलमा भेटिएका नेपाली सेनाको फिदिमस्थित रणशेर गणका सेनानी बिमल राउतले बिहीबार अपराह्नबाट फड्केमार्फत वारपार गर्न सकिने गरी कार्य अघि बढाएको जानकारी दिए। उनका अनुसार ४ फिट चौडाइ र ५३ मिटर लम्बाइको फड्के पुल बनिरहेको छ। फड्के पुल सञ्चालनमा आए ताप्लेजुङतर्फ आउने यात्रुले फड्के तरेर हेंवाखोला वारी रहेका यातायात साधनमार्फत ताप्लेजुङतर्फ आउन सक्ने छन्।

पाँचथरका प्रमुख जिल्ला अधिकारी कोइरालाले भने दोस्रो विकल्प भनेको हेंवाखोलामा अस्थायी डाइभर्सन निर्माण हो। पानीको सतह घटेपछि मात्र त्यो कार्य सुरु हुने देखिएको छ। ‘त्यसपछि बेलिब्रिज निर्माणको प्रक्रियाका बारेमा योजना अघि बढाउने गरी सडक कार्यालयसँग समन्वय भइरहेको छ’कोइरालाले भने। 

प्रकाशित: १७ आश्विन २०८१ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App