समाज

‘क्लिन बागलुङ’ अभियान सुरु

बागलुङ नगरपालिकालाई सफा र सुन्दर बनाउने उद्देश्यले ‘क्लिन बागलुङ’ अभियान सुरु गरिएको छ। नगरपालिकाले आइतबार एक कार्यक्रमबिच अभियानको सुरुवात गरेको हो। बागलुङमा बजारबाट निस्कने फोहोर व्यवस्थित गरी शून्य फोहोरमा रूपान्तरण गर्ने कार्यका लागि अभियान थालिएको नगरपालिकाले जनाएको छ।

अभियानको सुरुवातसँगै नगरपालिकाले हरियो, रातो र नीलो गरी तीन प्रकारका बाल्टी नागरिकलाई वितरण गरेको छ। हरियो बाल्टीमा कुहिने वस्तु, नीलोमा प्लास्टिकजन्य र रातो बाल्टीमा सिसाजन्य वस्तुहरूको फोहोर वर्गीकरण गरेर नागरिकको घरबाटै फोहोर व्यवस्थापन गर्न सिकाउनका लागि अभियान थालिएको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। ‘२०औं वर्षदेखि कालीगण्डकी र काठेखोलाका किनारमा रहेको खुद्रुकेमा फालिएको फोहोर व्यवस्थित गर्नुपर्छ भनेर हामीले काम थालेका छौं’, उनले भने, ‘ल्यान्डफिल साइटमा थुपारिएको फोहोरलाई हामीले अन्यत्रै व्यवस्थापन गरेर त्यहाँ दुईवटा ट्रस्ट निर्माण गरेका छौं। अब त्यहाँ कुहिने र गनाउने फोहोर जाने छैनन्।’

सकेसम्म नागरिकका घरबाटै कमभन्दा कम फोहोर फाल्ने गरी व्यवस्थापन गर्न लागिएको उनले बताए। ‘तरकारीका बोक्रा र छिल्का, फालिएका खानेकुरा आदि कुहिने फोहोरलाई हरियो बाल्टिनमा राखेर सकेसम्म आफैं मलका रूपमा कौसी खेती वा अन्य खेतबारीमा प्रयोग गर्नुस् भनेका छौं’, उनी भन्छन्, ‘त्यसो भयो भने ९० प्रतिशत फोहोर घरबाटै व्यवस्थापन हुन्छ। उहाँहरूले प्रयोग गर्न नसकेको कुहिने फोहोरलाई हरियो गाडीमा जम्मा गरेर कम्पोस्ट मल बनाउन उपयोग गर्छौं।’ प्लास्टिकजन्य र अन्य पुनः प्रयोग हुने फोहोरलाई पनि सकेसम्म घरबाटै व्यवस्थापन गर्न नागरिकलाई सिकाइने उनले बताए।

‘यो अभियानमा केवल बाल्टी मात्रै वितरण हुँदैन, नागरिकलाई फोहोरको व्यवस्थापन पनि सिकाउँछौं’, उनले भने, ‘प्लास्टिक, फलामका टुक्रालगायत सामान कबाडीमा लैजानेलाई बिक्री गर्न सकिन्छ।’ ल्यान्डफिल साइटमा पुगेको फोहोरलाई पनि ‘सेक्रिगेसन’ गरेर शून्य फोहोर बनाउने उनले बताए।

‘ल्यान्डफिल साइटमा पुगेपछि फोहोरलाई भिज्न नदिई हामी छुट्याएर राख्छौं, पुनः प्रयोग हुनेलाई छुट्याउँछौं’, उनले भने, ‘पुनः प्रयोग नहुने फुटेका सिसा र अस्पतालका फोहोरलाई विशेष प्रविधि प्रयोग गरेर जलाउने छौं। यसो गर्दा वातावरणीय प्रदूषण पनि हुने छैन।’

नकुहिने र पुनः प्रयोगमा नआउने फोहोरलाई जलाउनका लागि कोरियन कम्पनीसँग सम्झौता भइसकेको उनले जानकारी दिए। ‘विशेष प्रविधिबाट वातावरणीय प्रदूषण नगरी फोहोर जलाउन मिल्ने मेसिन खरिदका लागि कोरियाको कम्पनीसँग हाम्रो एमओयु भइसकेको छ, त्यो मेसिन आउनुअगाडि नै हामीले बागलुङ मुख्य बजारभित्रका पाँच हजार घरमा १५ हजार बाल्टी वितरण गरी फोहोर व्यवस्थापन प्रक्रिया सिकाउँछौं’, उनले भने।

फोहोर व्यवस्थापन सचेतका लागि बागलुङ नगरपालिकाका कर्मचारीका अतिरिक्त प्रहरी र नेपाली सेनासमेत परिचालित हुनेछन्। ल्यान्डफिल साइटको फोहोर व्यवस्थापन गरी त्यहाँ ट्रस्ट निर्माणका लागि बागलुङ नगरपालिकाले एक करोड बजेट विनियोजन गरेर काम तीव्र बनाएको छ।

पर्यटन विकास समिति बागलुङका अध्यक्षसमेत रहेका उपप्रमुख राजु खड्काले बागलुङमा आउने पर्यटकलाई बागलुङ बजार सफा र सुन्दर छ भन्ने सन्देश दिन सक्दा पनि धेरै पर्यटकको आगमन हुने विश्वास व्यक्त गरे।

‘हामीले फोहोर फाल्दै आएको ठाउँ कालीगण्डकी करिडोरको आडमै भएका कारण पनि यहाँ आउने पाहुनामा सुरुवातमै गलत सन्देश जान्थ्यो’, उनी भन्छन्, ‘अब हामी ‘जिरो वेस्ट’ को काममा अगाडि बढेका छौं। यसले बागलुङमा आउने पर्यटकलाई ‘सफा, सुन्दर र हराभरा बागलुङ बजार’ हेर्ने वातावरण बन्ने छ।’  

प्रकाशित: १७ आश्विन २०८१ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App