समाज

जुम्लाका गाउँमा अनुदानको नुन

जुम्लाको सिञ्जा गाउँपालिका–१ का जंगबहादुर रोकाया सरकारी अनुदानको नुन गाउँमै पाएपछि आश्चर्यमा परे। हरेक वर्ष पाँच पोका नुन किन्न न्यूनतम एक हजार रुपैयाँ खर्चेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता व्यहोर्दै आएका उनले यो वर्ष पाँच पोका नुन घरमै पाउँदा दंग छन्।

कोटा अनुसारको नुन नआउने र ढुवानी खर्च नहुँदा गाउँबस्तीमै लिएर बाँड्न सकिने अवस्था थिएन। तर, पछिल्लो समय स्थानीय सरकार आएसँगै जनप्रतिनिधिहरुले वडामै गएर नुन बाँड्न थालेका छन्। जसले गर्दा अनुदानको नुन उपभोक्ताहरुले सहजै पाउन थालेका छन्।

जनप्रतिनिधिहरुले एक मुष्ट नुन लैजाने र हरेक बस्तीसम्म जनसंख्याका आधारमा बाँडिदिने गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जम्लाले प्रतिव्यक्ति ५ प्याकेट नुन उपलब्ध गराउँदै आएको छ।

‘हरेक दसैंमा जुम्लाका अधिकांश बस्तीहरु अलिनो हुने गरेका थिए। कोटा अनुसारको नुन नआउँदा दुर्गम क्षेत्रका सर्वसाधारण महँगोमा नुन किन्न बाध्य थिए,’ तातोपानीका रामकृष्ण न्यौपानेले भने, ‘अहिले वडामै लिएर नुन बाँड्ने कार्य सुरु भएपछि निकै राहत मिलेको छ।’

कार्यालय प्रमुख नगेन्द्र थापाका अनुसार यो दसैंमा नुन अभाव नहुने भएको छ। हरेक स्थानीय तहसँग समन्वय गरेर गाउँबस्तीमै नुन पठाइसकेकोले पनि सदरमुकामको गोदाममा भिडभाड हुने सम्भावना पनि नरहेको उनको भनाइ छ।

‘वडा कार्यालयले घरधुरीको संख्याका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयमा सिफारिस पठाउने गर्छन्,’ कार्यालय प्रमुख थापाले भने, ‘कार्यालयले सोही सिफारीसका आधारमा नुन पठाउने गरेको छ। जसले गर्दा नुनको दुरुपयोग हुनबाट रोकिएको छ।’

पाँच प्याकेट नुनको ४५ रुपैयाँ तिरेर गाडीभाडा र खानखर्चमा बढी खर्च हुने गरेको थियो। तर अहिले जनप्रतिनिधिसँगको आपसी समन्वयमा हरेक वडामा नुन लैजान थालेपछि निकै सहज बनेको स्थानीयले बताए।

अहिले सदरमुकाम खलंगाको गोदाममा एक हजार १ सय ६० क्वीन्टल नुन मौजदात छ।

सिंजासहित चन्दननाथ नगरपालिका, पातारासी, गुठिचौर, तातोपानी र तिला गाउँपालिकामा स्थानीय तहसँगको समन्वयमा हरेक वडामा नुन पठाइसकिएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक एक हजार क्वीन्टल र सदरमुकाम खलंगाको डिपोमा ४ हजार क्वीन्टल नुनको कोटा तोकिएको थियो। गत वर्षमा चार हजार कोटा तोकिएको चार हजार ८ सय क्वीन्टल नुन आवश्यक परेको थियो।

कार्यालय प्रमुख थापाले जुम्लामा बाँडिएको अनुदानको नुन नासोको रुपमा  सुर्खेत, नेपालगञ्ज, कैलालीदेखि काठमाडौँसम्म पठाउने गरिएको बताए।

प्रकाशित: १७ आश्विन २०८१ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App