समाज

चनिकलाल भन्छन्: श्रीमतीले नजानु भन्दै थिइन्, होइन भन्दै गएँ, मान्छे बचाएँ

बाढीमा बगिरहेकाको उद्धार गर्ने चनिकलाल ललितपुर महानगरबाट पुरस्कृत

ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ।

तामाङलाई बुधबार महानगरमा आयोजित कार्यक्रममा तामाङलाई नगर प्रमुख चिरीबाबु महर्जनले एक लाख नगदसहित सम्मान पत्र प्रदान गरे। महानगरको कार्यपालिकाको पछिल्लो बैठकले तामाङलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो।

नगर प्रमुख चिरीबाबु महर्जनले चनिकलाल तामाङको बहादुरीको प्रशंसा गरे। उनले भने, ‘ तपाईँले गर्नुभएको कामको जुन शब्दले प्रशंसा गरे पनि पुग्दैन, नगरवासी र नगरपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद।’ नगर प्रमुख महर्जनले चनिकलालले गरेको काम मानवताको उत्कृष्ट र अतुलनीय नमुना भएको बताए।

असोज १२ गते नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको उनले उद्धार गरेका थिए। चनिकलालले बाढीसँगै बगिरहेकालाई उद्धार गर्दा अतुलनीय आत्मसन्तुष्टि मिलेको बताए।

उनले भने, ‘ श्रीमतीले नजानु, नजानु भन्दै थिइन् , होइन म जान्छु भन्दै गएँ, मान्छे बचाएर फर्के।’ सम्मान र पुरस्कारको लागि आफू बाढीले बगाएको मान्छे बचाउन उर्लँदो खोलामा हाम नफालेको बताए।

उनले भने, ‘मलाई यस्तो सम्मान पाउँला भन्ने थाहै थिएन, मेरो काम देखेर सम्मान गर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद।’

महानगरका प्रवक्ता राजु महर्जनले मानव जीवन रक्षाको लागि चनिकलालले गरेको कामको उच्च मूल्याङ्कन गर्दै महानगरले सम्मान सहित पुरस्कृत गरेको बताए।

प्रकाशित: १६ आश्विन २०८१ २१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App