समाज

उद्धारमा हेलिकोप्टर उडाउन क्यान नै ‘असहयोगी’

अविरल वर्षाले विपत्ति निम्त्याउँदा उद्धारमा सरकारी तथा निजी हेलिकोप्टरले उडान अनुमति नै नपाएको खुलेको छ। सरकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भिजिबिलिटी कम देखाएर नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर उडानका लागि अनुमति नदिएको खुलेको हो।

‘शनिबार दिउँसो राज्यलाई परेको विपद्मा सरकारी र निजी हेलिकोप्टरहरू परिचालन हुन सकेनन्,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने। ती अधिकारीका अनुसार बिहान ११ बजेसम्म गृहमन्त्री रमेश लेखकले ‘अब त भिजिबिलिटी हुन्छ होला, रेकी गरिदिनू’ भनेर सेनालाई आग्रह गरेका थिए। तर क्यानले रोकेपछि सेना र निजी क्षेत्रबाट सञ्चालित हेलिकोप्टर उद्धारका लागि परिचालित हुन नसकेका हुन्।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानैदेखि हेलिकोप्टर परिचालन गर्न खोजेको थियो। तर क्यानले उडान अनुमति दिएको थिएन। गृह सचिव गोकर्णमणि दवाडीले सेनाको हेलिकोप्टर परिचालन हुन ढिलाइ भएको भन्दै बिहानै निजी क्षेत्रका हेलिकोप्टर उडाउन सञ्चालकहरूलाई आग्रह गरेका थिए। तर निजी हेलिकोप्टरहरूले पनि उडान भर्न सकेनन्। ‘क्यानले उडाउन अनुमति दिएन, राज्यलाई असहयोग भयो,’ निजी हेलिकोप्टर सञ्चालक एक सदस्यले भने, ‘थानकोट, नक्खु जान भिजिबिलिटी पुग्दैन भन्नु कमजोरी देखियो। यो विषयमा छानबिन हुनुपर्छ।’ माओवादी द्वन्द्वको बेला राति उड्ने हेलिकोप्टरलाई बिहान भिजिबिलिटी कम छ भन्ने एउटा बहाना मात्रै भएको पनि ती सञ्चालकले दाबी गरे।

‘नागरिक उड्डयन प्राधिकरणको कमजोरी छ। यसमा राज्यले छानबिन गरोस्। हामी सहयोग गर्छौं,’ ती सञ्चालकले भने। गृह मन्त्रालयका सूचना अधिकृत दिलकुमार तामाङले पनि भिजिबिलिटी कम भएकाले हेलिकोप्टर उडाउन नसकिएको बताए। ‘हामीले बिहान ७ बजेदेखि नै हेलिकोप्टर उडाउन नेपाली सेना र निजी कम्पनीका सञ्चालकहरूलाई अनुरोध गरेका थियौं। मौसम प्रतिकूल रहेको र भिजिबिलिटी तीन किलोमिटर पनि नभएको भनिएपछि हेलिकोप्टर उडाउन सकिएन,’ उनले भने।

तर क्यानका उपमहानिर्देशक एवं प्रवक्ता हंसराज पाण्डेले बिहानको समय भिजिबिलिटी कम थियो तर उद्धारका लागि अनुमति लिन आउने हेलिकोप्टरलाई उडान अनुमति नदिएको भन्नेमा सत्य सत्यता नभएको बताए। ‘उद्धारका लागि भन्नेबित्तिकै त्यस्तो उडानलाई प्रामिकतामा राखेर अनुमति दिने गरेका छौं,’ प्रवक्ता पाण्डेले भने। विशेष परिस्थितिमा उद्धारका लागि हेलिकोप्टर खटाउन नसक्दा यतिबेला गृह मन्त्रालयको मात्र होइन, सरकारकै आलोचना भइरहेको छ। तर सरकारी निकायले असहयोग गरेको विषयले गृह मन्त्रालय निरीहजस्तै भएको छ।

‘गृहमन्त्री र गृहसचिव दुवैले एकपटक होइन धेरै पटक आग्रह गरेको देखियो तर भिजिबिलिटीको बहानमा उडान हुन सकेन,’ गृहका एक कर्मचारीले भने। निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपाल (एओन) को अध्यक्ष मनोज कार्कीले मौसम प्रतिकूल रहेको बताउँदै मौसम अनुकूल हुनेबित्तिकै होलिकोप्टर उद्धारका लागि परिचालित भएको बताए। बिहानको मौसम प्रतिकूल थियो, मौसम प्रतिकूल हुनेबित्तिकै उद्धारमा खटिएका छौं,’ उनले भने।

शनिबार बिहानैबाट राजमार्गहरू बन्द भइसकेका थिए। शुक्रबार रातिदेखि नै देशका विभिन्न भागमा बाढीपहिरोको असर देखिन थालिसकेको थियो। अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण शनिबार बिहानैबाट देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएपछि गृह मन्त्रालयमा आपतकालीन बैठक सुरु भएको थियो। सडक विभागले शनिबार दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएको रिपोर्ट दिएको थियो।

गृह मन्त्रालयले ११ बजेपछि मात्रै रेकीका लागि भनेर सेनाको हेलिकोप्टर उडान सकेको थियो। शनिबार दिनभर विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद भएका थिए। ललितपुरको नक्खुमा शनिबार बिहान चारैजनालाई बगाएको समाचारले राजधानीवासीलाई स्तब्ध बनाइसकेको थियो। सशस्त्र प्रहरीको सूचना शाखाले ९ बजे नै त्यसको विवरण आफ्नो युनिटमा पठाइसकेको थियो। तर ललितपुरको जिल्ला प्रशासन कार्यालयले त्यसबारे केही जानकारी नभएको रिपोर्ट गृहमा गरेको थियो।

गृह मन्त्रालयमा आपत्कालीन बैठक बसिररहेका बेला कुलेखानी जलविद्युत् आयोजनको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको सूचना दिइएको थियो। त्यसैगरी बिपी राजमार्गमा नेपालथोकभन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको र ३३ जना व्यक्ति अलपत्र परेको सूचना दिइएको थियो। नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेको तथा काठमाडौं उपत्यकाभित्रका नदीनालाका सतह बढेर बस्तीमा पानी पसेको सूचना दिइरहेको थियो। 

गृह मन्त्रालयका अधिकारीहरू यी सबै सूचना सुनेर बसेका थिए। तर समयमा हेलिकोप्टर परिचालन गर्न सकेका थिएनन। ‘राजमार्ग अवरोध भएको मात्र होइन, सर्वसाधरण नागरिकले ज्यान गुमाएको सूचान सुनेर बस्न बाध्य भयौं तर राज्यकै अर्को निकायले असहयोग गर्दा तत्कालै उद्धारमा जान नसकेको सत्य हो,’ गृह मन्त्रालयका ती कर्मचारीको दाबी छ।

मंगलबार यो विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ दिनुपरेको थियो। नक्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरूलाई समयमै उद्धार गर्न नसक्दा उनीहरू बगेको विषयमा राज्यविहीनता रहेको भन्दै सर्वत्र आलोचना भएको थियो। सो कुराको सांसदहरूले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगे पनि प्रतिकूल मौसमका कारण उद्धार सम्भव नभएको गृहमन्त्रीले सुनाएका थिए।

‘नक्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन। सरकारले हेर्नै सकेन भन्ने होइन। हामीले प्रयत्न गरेको हो। सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ। प्रहरीले उहाँहरूलाई उद्धार गर्ने प्रयत्न गरेको छ। हेलिकोप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो तर प्रतिकूल मौसमका कारणले भएन। प्रयत्न गर्दागर्दै उहाँहरू बग्नुभयो। तीनजनाको उद्धार भयो। दुई जना हराइरहेको अवस्था छ। सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको भने होइन। कोसिस गरेको हो,’ उनले भनेका थिए।

प्रकाशित: १६ आश्विन २०८१ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App