समाज

बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार

नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका एक सय ९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा नौ सय ८९ जनाको सकुशल उद्धार गरेको छ ।

सेनाले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर, उदयपुर र झापालगायत जिल्लामा खोज तथा उद्धार गरेको जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यसअवधिमा करिब चार हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यसक्रममा ९६ वटा शव फेलापारी आवश्यक व्यवस्थापन गरेको छ । सेनाले हेलिकप्टरमार्फत सात सय ५१ जनाको उद्धार गरिएको तथा १४ वटा शव सम्बन्धित स्थानमा पुर्‍याइएको जानकारी दिएको छ ।

हवाई साधनमार्फत सेनाले सात हजार ५३ केजी राहत सामग्री र एक हजार चार सय ५० लिटर डिजेल ढुवानी गरेको पनि निर्देशनालयले जनाएको छ ।

बाढी, पहिरो प्रभावित विभिन्न स्थानमा स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी तथा केन्द्रीयस्तरबाट स्वास्थ्यकर्मी खटाइ प्राथमिक स्वास्थ्य उपचार प्रदान गरेको छ ।

प्रकाशित: १५ आश्विन २०८१ २०:४६ मंगलबार

#Areas affected by floods and landslides #Military Search and Rescue