समाज

लुम्बिनी प्रदेश: चार दिनमा तीनको मृत्यु, एक बेपत्ता, करोडाैंको क्षति

लुम्बिनी प्रदेशमा बाढी पहिरोको प्रकोपमा परेर पछिल्ला चार दिनमा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते र एक जना बेपत्ता छन्।

तीन दिनको अवधिमा प्रदेशमा १ करोड ४३ लाख मूल्य बराबरको आर्थिक क्षति भएको छ। १९ वटा घर र ७ वटा गोठ भत्केका छन्। १ सय ६८ वटा घरमा आंशिक क्षति पुगेको छ। तीन सरकारी भवन पनि आंशिक क्षति भएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारी अनुसार असोज ११ गते देखि १४ गते सम्मका मनसुनजन्य विपद्का ३२ घटना रेकर्ड गरिएका छन्।

पछिल्ला चार दिनमा परेको अत्यधिक वर्षाका कारण पहिरो र डुबानमा परेर आर्थिक तथा मानवीय क्षति भएको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए।

उनका अनुसार बाढीमा परेर रुपन्देहीमा दुई जना र बाँकेमा एक जनाको मृत्यु भएको हो।

शनिबार बिहानै रुपन्देहीको सम्मरीमाइ-५ को रोहीनीहवामा रहेको तिवारी दुध संकलन केन्द्रबाट दुध बोकेर भैरहवा ल्याउँदै गरेको भे १ च २६७६ नम्बरको जिप भैरहवा विमानस्थल नजिकैको घाघरा खोलाले बगाएको थियो।

सो गाडीका चालक प्रकाश तामाङ र सहचालक उमेश लोध पनि गाडीसँगै बगेका थिए। दुधको गाडीसँगै बगाएका दुवै जनाको शव प्रहरीले तीन दिनपछि सोमबार फेला परेको थियो। वर्षा कम भएर नदिमा पानीको सतह घटेपछि प्रहरीले करिब एक सय मिटर तल नदिमै उनीहरुको शव फेला पारेको हो।

बिहीबार साँझदेखि नै यहाँका नदी खोला नालाहरुमा पानीको सतह अत्यधिक बढेको थियो। जसका कारण ठाउँ-ठाउँमा बाढी, पहिरो र डुबानका घटनाहरू भए। पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम जिल्लाका अधिकांश ग्रामीण सडकहरू ठाउँ ठाउँमा पहिरो झर्दा आवागमनमा समस्या भएको थियो। मंगलबार देखि ती सडकको पहिरो पन्छाउने र सवारी आवागमन सहज बनाउने काममा सम्बन्धित निकाय लागेको छ।

वर्षामा पहिरो झरिरहने र बाटो अवरुद्ध भइरहने पूर्वपश्चिम राजमार्गको बर्दघाट दाउन्ने क्षेत्रमा आइतबार देखि सडक भासिँदा झण्डै १२ घण्टा पूर्वपश्चिम राजमार्गमा आवागमन ठप्प रह्यो।

मंगलबार दिउँसो एक तर्फी संचालन भएपनि जोखिम कायमै रहेको भन्दै मंगलबार राती देखि बुधबार बिहानसम्म सवारीमा रोक लगाइएको छ। त्यस्तै, सिद्धार्थ राजमार्गको बुटवल पाल्पा, बर्तुङ राम्दी, लगायतका सडकमा झरेको पहिरो पन्छाएर मंगलबार देखि सवारी आवागमन सुचारु गरिएको छ।

नवलपरासीको सुस्तामा नारायणीले ठोकर भत्काएर गाउँ पसेपछि तीन दिन सिंगो सुस्ता जलमग्न भयो। मंगलबारसम्म पनि सुस्तावासीले घरभित्र पसेको लेदोमाटो सफा गरिरहेको र लत्ताकपडा, खाद्यान्न बाढीमा डुब्दा समस्यामा भएको सुस्ताका स्थानीय रवीन्द्र जयसवालले बताए।

तराइका जिल्लाहरू रुपन्देही, नवलपरासी कपिलवस्तु, दाङ, बाँके बर्दियाका दक्षिणी क्षेत्रका बस्ती र धानखेत डुबानमा परेका छन्। पसाउने बेलाको बाली लामो समय डुबानमा पर्दा उत्पादन घट्ने भन्दै किसानहरू चिन्तित छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले विपद्का घटनामा परेकाहरूलाई राहतका लागि कोष खडा गरिएको बताए। प्रदेश विपद् व्यवस्थापन कार्य संचालन निर्देशिका २०७६ को व्यवस्था अनुरूप रहेको विपद् व्यवस्थापन कोषमा प्रदेश सरकारले १० करोडको शोधभर्ना गर्ने र सोही कोषबाट राहत वितरण गरिने पाण्डेले जानकारी दिए।

वातावरण विनाशका घटना बढ्दै जाँदा प्राकृतिक प्रकोप पनि बढ्दै गएको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन्। लुम्बिनी प्रदेशसभाको कृषि वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले नदी तथा वन क्षेत्र अतिक्रमण, चुरे दोहन, जथाभाबी खनिएका ग्रामीण सडक तथा खानीहरू, प्लास्टिकजन्य बस्तुको बढ्दो प्रयोग जस्ता कारणले प्राकृतिक विपद्का घटनाहरू बर्षेनी बढ्दै गएको बताए।

नदी खोला नालाको बहाव क्षेत्रमा बस्ती बिस्तार गरिँदा तराइका जिल्लाहरूमा बाढी र डुवानको प्रकोपमा परेको बताए। विकासमा नाममा पहाडी जिल्लाहरूमा जथाभाबी डोजर प्रयोग गरी निर्माण गरिएका सडकहरुले पनि प्राकृतिक विप‍द् निम्त्याइरहेको उनले जनाए।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले विकास निर्माणका कार्यहरू गर्दा वातावरणीय पक्षलाई विशेष ध्यान दिनुपर्ने र तोकिएको मापदण्ड अनिवार्य पुरा गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १५ आश्विन २०८१ २०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App