राजनीति

विपत्तिका बेला जिम्मेवार पदाधिकारी कोही विदेशतिर, कोही सम्मान थाप्नै व्यस्त

मुलुकमा विपत्ति परेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राहत र उद्धारमा खटिने निकायका प्रमुख नै विदेशमा थिए र छन्।

प्रधानमन्त्री ओली सोमबार आएदेखि सरकार र पार्टीको बैठकमा व्यस्त भए। उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा गएका थिए। प्रधानमन्त्रीले भ्रमण छोट्याएर स्वदेश फर्केनन् भनेर सामाजिक सञ्जालमा  व्यापक आलोचना भएको थियो।

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर काममा फर्किन दुई दिन लाग्छ। ‘इन्टरनेसनल इन्फोर्समेन्ट कन्फरेन्स’ मा भाग लिन गएका आइजिपी अझै विदेशतिर घुमिरहेका छन्। प्रहरी प्रधानकार्यालयका अनुसार भोली बिहानको (राती) मात्रै उनी नेपाल आउनेछन्। कार्यक्रम असोज ८ देखि १० सम्म थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख बेलायततिर छन्। अरु बेला सेनाको हेलिकोप्टर प्रयोग गरेर पहिरोको प्रकृति मापन गनुपर्ने भन्दै आफै झोला बोकेर कुद्ने अनिल पोखरेल यतिबेला व्यक्तिगत कामले बेलायत पुगेका हुन्। 

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल देश डुबानमै परेको दिन बेलायत उडेका थिए। उनी अझै उतै छन्। विपत्तिका बेलामा प्रधानमन्त्री अनुपस्थित हुँदा कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक डाकेका थिए। तर मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुपर्ने प्रशासनिक व्यक्ति मूख्यसचिव एकनारायण अर्याल काठमाडौंबाहिर सम्मान थापिरहेका थिए।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह आफै पनि शनिबार एउटा सार्वजनिक कार्यक्रममा सम्मान थाप्न व्यस्त थिए। प्रधानमन्त्री विदेश भ्रमणमा गएपछि प्रशासनिक संयन्त्रको नेतृत्व गरिरहेका मुख्यसचिव एकनारायण अर्याल पनि बिहीबार पोखराको कार्यक्रम सकेर शुक्रबार गृह जिल्ला स्याङ्जा पुगेका थिए ।

शुक्रबारदेखिको अविरल वर्षाले काठमाडौंसहित सिन्धुली, काभ्रे, धादिङ डुबिरहँदा उनी  आइतबार वालिङस्थित इलाका प्रशासन कार्यालयको उद्घाटनमा व्यस्त भएका थिए।

प्रकाशित: १५ आश्विन २०८१ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App