समाज

मनसुनी विपद्: मृतक संख्या २०९, अझैँ सकिएन उद्धार

यसपटकको मनसुनी विपद्‌बाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ। गृह मन्त्रालय तथ्यांकअनुसार सोमबार साँझसम्म २०९ जनाको शव संकलन भएको छ। अझै २९ जना बेपत्ता छन्। वर्षा रोकिएको झण्डै दुई दिन बित्दा पनि अझैँ उद्धार कार्य सकिएको छैन। 

गृहमन्त्रालयका अनुसार अझै पनि उद्धार कार्य चलिरहेको छ। उद्धार जारी रहँदा मृतकको संख्या अझै बढ्नसक्ने सम्भावना छ। गृहमन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले सोमबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै ‘खोज तथा उद्धारको कार्य जारी रहेको’ र ‘खोज तथा उद्धारको कार्यलाई आवश्यकतानुसार सुरक्षा निकायहरुबाट निरन्तरता दिइएको’ जनाएका छन्।

सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार मृत्यु हुनेमा काभ्रेमा मात्रै ५९ जना पुगेको छ। अझै चारजना बेपत्ता छन्। ललितपुरमा वेपत्ताहरू भेटिँदै जाँदा मृतकको संख्या २५ पुगेको छ। जहाँ अझै १२ जना हराइरहेका छन्।

यता काठमाडौंमा हराएका दुईजना अझै भेटिएका छैनन्। यहाँ १७ जनाले ज्यान गुमाएका छन्। भक्तपुरमा एकजना बेपत्ता छन् भने पाँचजनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकमा १३ जनाको मृत्यु र एकजना बेपत्ता छन्। दोलखा र मकवानपुरमा सात/सात जनाले ज्यान गुमाएका छन्।

धादिङको झ्याप्लेखोलमा तीन बसमा सवार ३५ जनाबाहेक थप चारजनाको मृत्यु भएको छ। बागमतीकै सिन्धुलीमा दुई, नुवाकोट र रामेछापमा एक/एकजनाको मृत्यु भएको सशस्त्र प्रहरीको तथ्यांकमा उल्लेख छ।

कोशी प्रदेशमा २४ जनाको मृत्यु भएको छ भने सातजना हराइरहेका छन्। मृत्यु हुनेमा पाँचथरमा सात, सोलुखुम्बुमा पाँच, झापा र धनकुटामा तीन/तीन, उदयपुरमा दुई र तेह्रथुम र ओखलढुंगामा एक/एक छन्। बेपत्ता हुनेमा पाँचथरमा चार र झापामा तीनजना छन्।

मधेस प्रदेशमा तीनजनाको मृत्यु हुँदा एकजना बेपत्ता छन्। महोत्तरीमा दुई र रौतहटमा एकजनाको मृत्यु भएको हो भने, सर्लाहीका एकजना बेपत्ता छन्।

लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढीले बगाएर दुईजनाको ज्यान लिएको सशस्त्र प्रहरीको तथ्यांकमा उल्लेख छ।

सशस्त्रको तथ्यांकअनुसार नौ जिल्लाका ८९ जना अझैँ घाइते भएर अस्पतालमा उपचाररत् छन्। यस्तै, एकहजार सातसङ ८३ घरमा पूर्ण रूपमा क्षति पुगेको छ। बागमती देशमा मात्रै एकहजार २३ घरमा क्षति पुग्दा कोसीमा ६९० घरमा क्षति पुगेको छ।

मौसमी विपद्‌मा परेका झण्डै चारहजार बढीको सकुशल उद्धार भएको गृहमन्त्रालयले जनाएको छ। जसमध्ये ‘नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको’ गृह मन्त्रालयका प्रवक्ता तिवारीले जानकारी दिए।

‘अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघीय निकायहरू र लजिष्टिक क्लष्टरका साझेदार संस्थाहरुसँग बैठक गरी राहत सामग्रीहरूको स्टक लिने र वितरणका लागि नक्सांकन गर्ने कार्य पनि भइरहेको छ।’ उनले सबै खाले राहत सामग्री एक द्वार प्रणाली मार्फत वितरण गरिने जानकारी दिए।

यस्तै सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्गहरू सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकमा वैकल्पिक मार्ग व्यवस्थापन गरेर यातायात सहज बनाउने काम भइरहेको पनि जानकारी दिए।  

आठ जिल्लामा कार्यदल गठन  

यस्तै मनसुनी विपद् प्रतिकार्यलाई सहज बनाउन गृहमन्त्रालयले आठ जिल्लामा आठ सहसचिवको संयोजकत्वमा कार्यदल पनि गठन गरेको छ।  

‘प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरिएको’ मन्त्रालयले जनाएको छ। जसमा बाढी–पहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्ला छन्।  

गृहमन्त्रालयका अनुसार काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन्। कार्यदललाई पुस २० गतेसम्मको समयसीमा दिइएको छ।  

कार्यदललाई पाँच बुँदे टिओआर पनि दिइएको छ। जसमा बाढीपहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, मानवीय र भौतिक क्षतिको विवरण तयार गर्ने, क्षतिग्रस्त सडकको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा समन्वय गर्ने, पीडित नागरिकलाई सुरक्षित बसोबास र राहत उपलब्ध गराउन स्थानीय तहसँग समन्वय गर्ने र पुस २० गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी प्रदान गरिएको छ।

घरबारविहीनलाई अस्थायी आवास अनुदान

यस्तै सोमबारै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक बसेको थियो। बैठकले विभिन्न ११ वटा निर्णय पनि गरेको छ।  

जसमा प्रकोपबाट घरबारविहीन भएकालाई अस्थायी आवास निर्माण अनुदान दिनेदेखि लिएमा मानवीय सहायता प्रदान गर्ने, राहत तथा पुनस्थापनाका काममा तीव्रता दिने, मौसमजन्य विपद्पछि फैलनसक्ने महामारीको पूर्वतयारी गर्नेसम्मका निर्णय भएका छन्।

प्रकाशित: १४ आश्विन २०८१ २०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App