समाज

मोरङको छुट्टाछुट्टै स्थानमा ३ जनाको शव फेला

मोरङको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकाको छुट्टछुट्टै स्थानमा एक महिलासहित ३ जनाको शव भेटिएको छ । 

खोलाले बगाउँदै ल्याएको र डुबेर मृत्यु भएको अवस्थामा सोमबार वृद्धसहित २ जना पुरुष र १ जना महिलाको शव फेला परेको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार कानेपोखरी गाउँपालिका–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा पथरीशनिश्चरे नगरपालिका–८ का ७५ वर्षीय लाखबहादुर राई भेटिएका थिए ।

राईलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर दिउँसो १ बजेतिर बाहिर निकालेका हुन् । खोलाबाट निकालेर हेर्दा मृत्यु भइसकेको पाइएको डिएसपी जोशीले बताए ।

कानेपोखरी–४ स्थित माइली छोरीको घरमा आएका राई ५ दिनदेखि सम्पर्कविहीन थिए । छोरीकोमा खाना खाएर आफ्नो घरतर्फ जाने क्रममा खोलाले बगाउँदै गर्दा शव फेला परेको थियो । खोला तर्न खोज्दा वृद्धलाई डाँस खोलाले बगाएको हुनसक्छ । घटनास्थलबाट करिब साढे ३ किलोमिटर तल शव फेला परेको डिएसपी जोशीले बताए । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, विराटनगरमा सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा महिलाको शव भेटिएको छ । विराटनगर–८ हाट खोलामा शव भेटिएकी अन्दाजी ३० वर्षीया जस्तो देखिने महिलाको पहिचान नखुलेको डिएसपी जोशीले बताए । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ । मृतकको चिउँडोमा चोट देखिएको छ । मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी, ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घर नजिकैको पैनीमा मृत फेला परेका छन् । उनी माछा मार्न भनेर आइतबार घरबाट हिँडेका थिए । भोलिपल्ट (सोमबार) शव भेटिएको हो । भगत घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा घरदेखि करिब २ सय मिटर पश्चिममा रहेको पैनीमा डुबिरहेको अवस्थामा शव फेला परेको डिएसपी जोशीले बताए । उनका अनुसार भगत बिहान ९ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाए र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १४ आश्विन २०८१ १९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App