समाज

परिवार पाल्न महिलालाई सफारी

इटहरी वडा नं. २ की जीवनकुमारी चौधरीका श्रीमान् मेजार चौधरीको तीन वर्षअघि मृत्यु भयो। अत्याधिक रक्सी पिएर बिरामी भएपछि मेजारको मृत्यु भएको थियो। श्रीमान्को मृत्युपछि उनी र छोराको दैनिक गुजारा टार्न समस्या आइ लाग्यो। केही उपाय नलागेपछि माइतीकै शरणमा पुगिन्।

चौधरीले माइती घरमै बसेर सुँगुर र बाख्रा पाल्न थालिन्। सुँगुर र बाख्रा पालन गरेर जसोतसो आफू र छोराका लागि आर्थिक समस्या टार्दै गइन्। अरु पनि कामको खोजीमा लागि रहेकी थिइन्। इटहरी वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाले उनलाई माइती नेपालसँग सम्पर्क राख्न लगाए। माइती नेपाल इटहरीमा पुगेपछि उनले केही सीपमूलक तालिम सिक्न इच्छुक भइन्। उनलाई माइती नेपालले सिटी सफारी चालकको १५ दिने तालिम दियो।

उनी तालिम लिएपछि सिटी सफारी चलाउन सक्ने भइन्। तिनै चौधरीलाई आर्थिक सहयोग पु¥याउन माइती नेपालले सोमबार सिटी सफारी प्रदान गरियो। चौधरीले प्राप्त गरेको सिटी सफारीका लागि दुई लाख ८५ हजार मूल्यको सिटी सफारी माइती नेपालको ७५ प्रतिशत र स्वयम् व्यक्तिले २५ प्रतिशत रकम किस्ता तिर्ने गरी एसबिआई बैंक इटहरीले ऋण उपलब्ध गराएको  छ।   

जीवनकुमारीजस्तै, सुन्दरहरैँचा वडा नं. १ की पूजा गुरुङ र मोरङ वेलवारी वडा नं. १ की लिलाकुमारी गुरुङले पनि सिटी सफारी प्राप्त गरेका छन्। पूजा पनि घर निर्माण गर्ने मजदुरी गर्दै आएपनि पछिल्लो समय काम नपाएपछि माइती नेपालसँगको आग्रहमा तालिम लिएर सिटी सफारी पाएकी हुन्। उनका श्रीमान् पनि डेगिलो छैनन्, एक ११ वर्षका छोरा छन्।

लिलाकुमारीका तीन जना छोराछोरी छन्। जसमा जेठो छोरा २२ वर्षका छन्। उनी मेरुदण्डका बिरामी छन्। उनका पनि श्रीमान् डेगिलो नभएकाले गर्दा परिवारका सम्पूर्ण सदस्यको आर्थिक गर्जो टार्ने जिम्मेवारी लिलाकुमारीकै काँधमा भएपछि सिप सिकेर माइती नेपालबाट सिटी सफारी प्राप्त गरेकी हुन्। यी तीन जनाबाहेक अन्य छ जनालाई माइती नेपालले सिलाई कटाई तालिम पनि दिएको इटहरी संयोजक सुनिता कार्कीले बताइन्।

यस्तै, यसअघि सिटी सफारी प्रदान गरेर ब्याट्री पुरानो भएका तीन जनालाई पनि नयाँ ब्याट्री दिइएको छ। पछिल्लो समय माइती नेपाल इटहरीले १५ जनालाई सिटी सफारी प्रदान गरी सकेको छ। सिटी सफारी र ब्याट्री इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरी र वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाले संयुक्त रुपमा प्रदान गरे।

केही समयअघि सिटी सफारी पाएकी इटहरी वडा नं. २ कै गीता धमलाले गरी खाने गतिलो माध्यम भएको बताइन्। उनी आठ वर्षअघि ओखलढुङ्गाबाट इटहरी झरेकी थिइन्। श्रीमान् भीमप्रसाद वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गए। श्रीमान् भीमप्रसाद मलेसिया गएपछि सानो छोरालाई बेलैदेखि राम्रो स्थानमा शिक्षा दिने सुनौलो सपना साँचेर गीता इटहरी झरेकी थिइन्।  उनी इटहरी वडा नं. २ मा डेरा लिएर बस्न थालिन्। तर, उनको सुनौलो सपनाको महल इटहरी झरेसँगै भताभुङ्ग भयो। उनका श्रीमान् भीमप्रसाद मलेसियामा बित्ते।

त्यसपछि उनले कसरी गुजारा टार्ने सुरै समस्या भयो। अन्तिममा माइती नेपालकै शरणमा पुगिन् अनि सिप सिकेर सिटी सफारी पाइन्। अब सिटी सफारीकै कमाइले इटहरी वडा नं. २ मै सानो घर बनाउने तयारीमा छन्।

महिलाको हकहितमा क्रियाशील माइती नेपालले समस्यामा परेका महिललाहरुलाई स्वरोजगारीमा जोड दिँदै आएको छ। सन् २००२ मा स्थापना भएको माइती नेपाल इटहरीले अहिलेसम्म ६५२  जनाले विभिन्न विधाको तालिम लिएर आत्मनिर्भर बनेको माइती नेपाल केन्द्रका कार्यकारी निर्देशक विकास खडकाले बताए।

आफन्तबाट साहरा नपाएका चेलीबेटीले माइती नेपाल पाएका छन्। जसले गर्दा माइती नेपाल साहरा खोज्ने चेलीबेटीका लागि माइती घरकै भूमिकामा छ।

घरेलु महिलामाथि हुने विभिन्न हिंसा, यौन हिंसा र मानव बेचबिखनका घटना बढिरहेका बेला माइती नेपालले आर्थिक अवस्था कमजोर भएका महिलाहरूका निम्ति आत्मनिर्भरका कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

प्रकाशित: १४ आश्विन २०८१ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App