समाज

नेपालगन्जकाे गणेशमान चोकदेखि चारबाहिनी चोकसम्मको सडक वान–वे

नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी (वान–वे) गराइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिन अघि सम्पन्न बैठकले उक्त सडकलाई एकतर्फी गराउने निर्णय गरेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुस्कर पन्तले जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको निर्णयसँगै अहिले कार्यान्वयनमा ल्याइएको बताए। ‘हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन्,’ उनले नागरिक न्यूजसँग भने।

सडकमा एकतर्फी सवारी साधन चलाउने गरी ट्राफिक चिन्ह लगायत निर्माण गर्ने काम भइरहेको नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख सुर्यबहादुर बोगटीले बताए।

उनका अनुसार सवारी साधनहरु गणेशमान चोकबाट चारबाहिनी चोकतर्फ जान पाउनेछन्। तर चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ सवारी साधनलाई प्रवेश गर्न दिइने छैन। ‘चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ जान चाहने सवारी साधनलाई शितलनगर रोड भएर जान दिने व्यवस्था मिलाइएको छ,’ नगर प्रहरी प्रमुख बोगटीले भने। सवारी साधनको चापले गर्दा पटक–पटक जाम हुने र सडक नै अस्तव्यस्त हुन थालेपछि एकतर्फी बनाउन आवाज उठ्न थालेको थियो।

सर्वसाधारणको आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताएका छन्। ‘विशेष गरी बिहान ९ बजेदेखि कार्यालय समयसम्म यो सडक अत्यधिक रूपले जाम हुने गरेको पाइयो, त्यस कारण सहज होस् भन्नका लागि एकतर्फी गराइएको हो,’ विष्टले भने। 

प्रकाशित: १४ आश्विन २०८१ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App