समाज

उपत्यकामा जारको पानीमा ‘दिसाजन्य वस्तु’

उपत्यकामा करिब एक दर्जन पानी उद्योगले बिक्री गर्दै आएको जारको पानी उपभोग गर्न अयोग्य प्रमाणित भएको छ। काठमाडौं महानगरपालिकाले अनुगमन गरेर नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानिसले पिउन नहुने गुणस्तरहीन पानी उद्योगहरूले बिक्री गरेको पाइएको हो।

पानी उद्योगले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको पाइएपछि काठमाडौं महानगरपालिकाले ११ उद्योगबाट उत्पादन हुने पानी बिक्रीवितरणमा रोक लगाएको छ।

२२ वटा उद्योगको नमुना परीक्षण गरेकोमा ११ उद्योगका पानीको जारमा दिसाजन्य कोलिफर्म ब्याक्टेरिया भेटिएको काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख डा. अवधेश झाले बताए। ‘पानी उद्योगले जारमा गुणस्तरहीन पानी बिक्री गर्दै आएको पाइयो,’ झाले भने, ‘कोलिफर्मले मानव स्वास्थ्यमा असर गर्छ।’

केही पानी उद्योगले मानव स्वास्थ्यमा असर पर्ने गम्भीर लापरबाही गरेको महानगरपालिकाले जनाएको छ।

कोलिफर्म ब्याक्टेरियासहितको पनीले वाकवाकी लाग्ने, हैंजा, झापाडपखालालगायत समस्या आउने चिकित्सक बताउँछन्। काठमाडौं महानगरपालिकाले नमुना संकलन गरेका २२ मध्ये ११ ब्रान्डका पानीको नमुना प्रयोगशालामा परीक्षण गर्दा ‘फिकल कोलिफर्म’ भेटिएको हो।

पानीमा कोलिफर्म भेटिनु भनेको मानिसलगायत कुनै न कुनै पशुपन्छीको दिसा मिसिनु भएको चिकित्सक बताउँछन्। कोलिफर्म एक प्रकारको ब्याक्टेरियाको समूह हो। कोलिफर्म मानिस, गाईबस्तु, चराचुरुंगीजस्ता तातो रगत भएका पशुपन्छीको दिसामा पाइन्छ। कोलिफर्म भनेको कुनै एउटा ब्याक्टेरिया मात्र नभई दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो।

खाद्य पदार्थको गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ। एघारवटा उद्योगको पानीमा दिसामा पाइने तत्त्व फिकल कोलिफर्म भेटिएकाले पिउन अयोग्य भएको हो।

महानगरपालिकाले अनुगमन गरेका ५० प्रतिशत पानी उद्योगको पानी उपभोग गर्न अयोग्य हुनुले उनीहरूले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको स्पष्ट भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए। ‘पानी उद्योगले मापदण्ड पूरा नगरी प्रशोधन गर्दै आएका छन्,’ तिमिल्सिनाले भने, ‘गुणस्तरहीन पानी बिक्री गर्ने उद्योगीलाई कडा कारबाही गर्नुपर्छ।’

महानगरपालिकाले गुणस्तरहीन पानी बिक्री गर्ने ११ वटा उद्योगलाई उनीहरूको उत्पादनमा रोक लगाउँदै दुई÷दुई लाख रूपैयाँ जरिवाना गरेको छ। कारबाही गरिएका पानी उद्योगले फिकल कोलिफर्म शून्य देखिएपछि मात्र बिक्रीवितरण गर्न पाउने महानगरपालिकाले जनाएको छ। उपभोग गर्न योग्य नभएको पानी बिक्री वितरण गर्ने उद्योगलाई काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ बमोजिम कारबाही गरिएको महानगरपालिकाले जनाएको छ।

गुणस्तरहीन पानी बिक्री गर्ने पानी उद्योगमा पञ्चरत्न गु्रप प्रालि टोखालगायत छन्। पञ्चरत्नले फ्रेस ड्रप ब्रान्डको जारमा पानी बिक्री गर्दै आएको छ। त्यसैगरी, पिस स्प्रिङ वाटर प्रालि टोखाको अक्वा पिस, उत्तरबाहिनी फुड एन्ड वेभरेज प्रालि कागेश्वरी मनोहराको अक्वा कोलभटेश्वर ब्रान्ड, गोकर्णेश्वरको अक्वा सुन्दरी उद्योगको उत्पादन अक्वा डिबी, कागेश्वरी मनोहरा–६ को स्नो क्युब ड्रिङकिङ वाटरको उत्पादन अक्वा, गोकर्णेश्वरको स्तुपा इन्डस्ट्रीको उत्पादन क्युब प्रोसेस ड्रिङकिङ वाटर र गोकर्णेश्वरकै मुनलाइट स्प्रिङ मिनरल वाटरको अक्वा माइल्ड ब्रान्डको जारको पानीमा कोलिफर्म भेटिएको हो।

त्यस्तै एमके मिनरल वाटर उद्योगले उत्पादन गर्ने अक्वा कपन, कोसी मिनरल वाटर उद्योग, अक्वा एस एनएस वेभरेज प्रालि टोखा, जबमुलिंगा ग्रुप इन्ड्रस्टिज प्रालि तारकेश्वरको अक्वा त्रिदेव ब्राण्डको पानी पनि पिउन अयोग्य रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

उद्योगीहरूमाथि गुणस्तरहीन पानी बिक्री गर्दै आएको आरोप लाग्दै आएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसअघि विभिन्न समयमा गरेको अनुगमन र परीक्षणमा पनि जारको पानीमा समस्या देखिएको थियो। विभागमा आर्थिक वर्ष २०८०/८१ मा परेका खाद्य सुरक्षा तथा गुणस्तर मुद्दामध्ये एक चौथाइ प्रशोधित पानीसम्बन्धी थिए।

गुणस्तर मात्र नभएर पानी उद्योगले थोत्रो, कोरिएको र कुच्चिएको जारमा पनि पानी बिक्री गर्दै आएका छन्। पानीको जारमा स्पष्ट रूपमा लेवल उल्लेख भएको हुँदैन। कम्पनीको इजाजत र पानी तयार भएको मितिसमेत केरमेट भएको हुने उपभोक्ताको गुनासो छ।

प्रकाशित: १४ आश्विन २०८१ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App