समाज

विपद्‌मा परेकालाई अस्थायी वासस्थान र खाना

अबिरल वर्षाका कारण बागमती नदी र अन्य सहायक खोल्साहरुमा आएको बाढीले काठमाडौं महानगरका विभिन्न वडामा विपद् निम्त्याएको छ।

बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई अस्थायी बासस्थान र खानाको व्यवस्था गर्दै महानगरले तत्काल राहतका कार्यक्रमहरू अघि बढाएको छ।

वडा नं-१० मा शनिबार बिहान ४ सय र बेलुका ५ सय जनाका लागि खानाको व्यवस्था गरिएको थियो। वडाध्यक्ष रामकुमार केसीले अब अवस्था सामान्य बन्दै गएकाले बेलुकाबाट खानाको व्यवस्था रोकिने जानकारी दिए।

बागमती नदीले विशेषगरी शंखमुल, बुद्धनगर, र दोभान क्षेत्रलाई बढी प्रभावित बनाएको छ। यस्तै, वडा नं-१२ र १४ मा पर्ने बागमती र विष्णुमतीको दोभान क्षेत्र, विशेषगरी बल्खु र कुलेश्वर क्षेत्रमा बाढीले ठूलो असर पुर्याएको छ।

वडा नं-१४ का अध्यक्ष सुमन श्रेष्ठका अनुसार, फलफुल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी आसपासका क्षेत्रमा समेत बाढीको प्रभाव परेको छ। शनिबार वडाले १२५ जनालाई कम्बल वितरण गरेको थियो भने ४ सय जनाका लागि दिउँसो र बेलुका खानाको व्यवस्था गरेको थियो।

वडा नं-११ का सदस्य सरोज मुल्मीले बंशीघाटका बाढी प्रभावितहरूलाई स्थानीय पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङमार्फत खाना खुवाउने व्यवस्था गरिएको बताए।

पौरखी बस्तीका ६ सय प्रभावितलाई गुह्येश्वरी स्कूलमा खानाको प्रबन्ध गरिएको वडा सदस्य आशा श्रेष्ठ रौनियारले जानकारी दिइन्।

महानगर प्रहरी बलका १७ टोलीले खोज र उद्धार कार्यमा जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरूको सहकार्यमा शनिबार बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा सक्रियता देखाएको थियो। उद्धारका लागि ४ वटा रेस्क्यु बोट प्रयोग गरिएको थियो।

काठमाडौंका विभिन्न स्थानमा बाढीमा फसेका १ हजार १६० जनाको सफल उद्धार गरिएको छ। भने खोलामा बगेर र पहिरोमा परी मृत्यु भएका ११ जनाको शव निकालिएको छ। ७४ वटा पशु चौपायाको क्षति भएको छ भने १ हजार ३४० घर डुबानमा परेका छन्।

विशेषगरी शंखमुल, बल्खु, कालीमाटी, कीर्तिपुर, नक्साल, र कोटेश्वर लगायतका क्षेत्रबाट बाढीमा फसेका १ हजारभन्दा बढी मानिसलाई उद्धार गरिएको थियो। यसक्रममा, मखन गल्लीमा पुरानो घर भत्केर अवरुद्ध भएको सडकलाई महानगर प्रहरीले खुलाएको छ। 

महानगरका भित्री सहरी क्षेत्रहरुमा पनि पानीको निकास बन्द हुँदा घर, पसल र व्यवसायिक स्थलहरु डुबानमा परेका छन्।

महानगरभित्रका प्रमुख नदीहरु बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुसी खोला, करखुशी खोला, बल्खु खोला र भचाखुशी नदीमा पानीको तीव्र बहावका कारण जोखिम अझै कायम छ।

प्रकाशित: १३ आश्विन २०८१ १९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App