समाज

एन्फाको गम्भीर त्रुटि: न एकेडेमी बग्यो, न खेलाडीको ज्यान जोगियो

तस्बिर: बुवा आमाका साथ पहिरोमा ज्यान गुमाएका अनुपम घलान।

अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण मकवानपुरको सिस्नेरीमा शनिबार ६ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

पानीको सतह बढेसँगै कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा ६ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको हो। खेलाडी बस्दै आएको एन्फा एकेडेमी तथा होस्टलमा बाढी पहिरोले कुनै असर गरेको छैन। तर कुलेखानीको ड्याम खोलेपछि पानीले बगाउँछ भनेर हल्ला त्रास फैलाएकै कारण र एन्फाको लापरबाहीले खेलाडीहरुको मृत्यु भएको भन्दै आफन्तसहित फुटबलसँग सम्बन्धित व्यक्तिहरुले दुखेसो गरेका छन्।

‘जहाँ खेलाडी राख्दै, पढ्दै आएका थिए त्यहाँ बाढी पहिरोले कुनै असर गरेको छैन। कुलेखानीको ड्याम खोल्दा पनि असर नपुग्ने सुरक्षित स्थानबाट खेलाडीहरुलाई किन भीरको बाटो हुँदै माथि लैजानुपरेको ? यस विषयमा हामी परिवारसँग समेत कुनै समन्वय गरिएको छैन’, पहिरोमा ज्यान गुमाएका मकवानपुर साइमन योञ्जनका एक आफन्तले भने, ‘सबै खेलाडीहरुलाई सँगसँगै लगिएको भन्नेमा समेत आशंका छ। घटनाको यथार्थ विवरण अहिलेसम्म हामीलाई दिइएकै छैन।’

एन्फाका पदाधिकारीले भने एकेडेमीमा रहेका ४० जना खेलाडीलाई नै एकै पटक सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना पहिरोमा परेर बेपत्ता भएको बताउँदै आएका छन्। एकेडेमीमा तोकिएको भन्दै धेरै खेलाडी राखिएको, प्रारम्भिक छनौटमा समेत नपरेका खेलाडीको बाहुल्यता रहेको, सामान्य प्राथमिक उपचार केन्द्र समेत नरहेको र खेलाडीहरुको बीमा समेत नभएको जानकारीमा आएको छ।

‘एन्फा एकेडेमीको लागि स्थान छनौट नै गलत भएको हो। अनकन्टार र सामान्य पूर्वाधार समेत नभएको स्थानमा एकेडेमी सञ्चालन गर्नु नै गलत थियो’, फुटबल संघ मकवानपुरका पूर्व उपाध्यक्ष सुविन घिमिरेले भने, ‘भिजनलेस प्रोजेक्ट’ र लापरबाहीका कारण आज ६ जना खेलाडीहरुले अकालमै ज्यान गुमाउनुपर्‍यो। दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

यता एन्फाका केन्द्रीय सदस्य समेत रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले एन्फाको लापरबाही नभएको बताउँदै खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा प्राकृतिक विपत्तिमा परेर ज्यान गएको बताए। ‘जे नहुनुपर्ने थियो त्यो भयो। अत्यन्तै दुखद घटना भएको छ। एकेडेमीका सहायक प्रशिक्षक र वाडेनले नेतृत्व गरेर ४० जनालाई नै सुरक्षित स्थानतर्फ लैजाने क्रममा पहिरोमा परेको भन्ने जानकारी पाएका छौँ’, उनले भने, ‘अझ घटनाको विषयमा जानकारी लिने र आवश्यक अनुसन्धान समेत भइरहेको छ।’ गाउँको विद्यार्थी पढ्न आउने बाटोबाट हिँड्दा बिचमा रहेका ६ जना पहिरोमा परेको लामाको भनाई छ। 

यो घटनाबाट एन्फाले पाठ सिकोस्: घलान


पहिरोमा परेर १३ वर्षीय छोरा अनुपमको मृत्यु भएपछि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान दम्पती भावविव्हल छन्। घलानको श्रीमती ललिता पाख्रीन समेत माओवादीको पिएलएका पूर्व फुटबलर हुन्। दुवैले सल्लाह गरेर छोरालाई फुटबल खेलाडी बनाउने उद्देश्यसहित एन्फा एकेडेमी पठाएका थिए। तर अब कहिल्यै नफर्किने गरी उनीहरूको एक मात्रै सन्तान अनुपम सदाका लागि यस धर्तीबाटै बिदा भएका छन्।

कुलेखानी ड्यामको पानी छोड्ने विषयमा सूचना आए लगत्तै एउटा ठोस निर्णयमा पुग्न नसक्दा छोरा अनुपमसहित ६ जना बालकको निधन भएको समन्वय समिति प्रमुख घलानको बुझाई छ। ‘पुलिसले छुट्टै सुरक्षित ठाउँमा गएर बस्नु भनेर माइकिङ गरेछ। प्रहरीले आतंकित गर्ने, एन्फाको वाडेनसहित व्यवस्थापन टिमले समयमै निर्णय गर्न नसकेको कारण आज दुखद अवस्था सामना गर्नुपरेको हो’, उनले भने, ‘कुलेखानीको ड्याम खोलिसक्यो भाग् भनेपछि सबै माथि जाने क्रममा ६ जना पहिरोमा पुरिएछन्। घटनाको बारेमा जानकारी पाएपश्चात् दिनभर सिस्नेरी जान प्रयास गर्दा पनि बाटो बिग्रेकोले जान पाइएन, दुःखी छु।’

आवश्यक पूर्वाधार एवम् तयारी विना नै एकेडेमी सञ्चालन भएको उनको पनि भनाई छ। खेल्ने क्रममा केही चोटपटक लाग्दा औषधी उपचार समेत आफैंले तिर्दै आएको घलानले जानकारी दिए। ‘सावधानी अपनाएर एन्फा एकेडेमीमै राखेको भए आज मेरो छोरासहित ४० जना नै खेलाडी सुरक्षित हुने रहेछन्। जे हुनु भइसक्यो अब एन्फाले यसलाई शिक्षाको रुपमा लिगोस्, मैले जस्तो कुनै पनि अभिभावकले अकालमै आफ्नो खेलाडी बालबच्चा गुमाउन नपरोस्’, उनले भने।

अनुपमसहित मकवानपुरका साइमन योञ्जन र दिवस बानियाँ तथा सर्लाहीका आदित्य बलपाकी, काठमाडौंका रियान्स आचार्य र बाराका विकल रेग्मीको पहिरोमा परेर मृत्यु भएको हो। एन्फाले गरेको छनौटमा परेका ३० जना र स्थानीय कोटाका १० जना गरी ४० जना सिस्नेरीस्थत एन्फा एकेडेमीमा रहँदै आएका थिए। 

प्रकाशित: १३ आश्विन २०८१ १७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App