समाज

कोशीमा बाढी पहिरोमा परी १४ जनाको मृत्यु, ८ बेपत्ता

चार दिन लामो अविरल वर्षाका कारण कोशी प्रदेशमा १४ जनाको ज्यान गएको छ भने १३ जना घाइते हुँदा ८ जना बेपत्ता छन्।

प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार वर्षापछिको पहिरोले पुरिएर पाँचथर, सोलुखुम्बु, धनकुटा, इलाम र उदयपुरका ११ महिला र ३ पुरुषको ज्यान गएको हो।

पहिरो खसेर कतिपयको घटनास्थलमै ज्यान गएको छ भने कतिको उपचारको क्रममा निधन भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भीमबहादुर दाहालले बताए। उनका अनुसार पाँचथर र सोलुखुम्बुका ५–५ जनाको ज्यान गएको छ भने धनकुटामा दुई जनाको पहिरोले ज्यान लिएको छ। इलाम र उदयपुरका १–१ जनाको खोलाले बगाएर निधन भएको छ।

पहिरोमा परि ज्यान जानेहरूमा पाँचथरको फिदिम नगरपालिका ४ की २४ वर्षीया सपना शेर्पा र ६ वर्षीया डोल्मा शेर्पा, फिदिम १ का ५० वर्षीय गोपी विश्वकर्मा, फिदिम २ की ३८ वर्षीया रञ्जना राई र फिदिम ८ का ८२ वर्षीय पशेम्वा शेर्पा रहेका छन्।

त्यस्तै सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका १० की ३३ वर्षीया कविता मगर, सोही वडाकी २४ वर्षीया रुपु मगर, २ नं. वडाकी २३ वर्षीया ल्हामु शेर्पा, ९ नं. वडाकी २९ वर्षीया रीना तामाङ र ९ नं. वडाकै २३ वर्षीया अर्की ल्हामु शेर्पाको पनि पहिरोले पुरिएरै ज्यान गएको एसएसपी दाहालले दिएको विवरणमा उल्लेख छ।

यता धनकुटाको पाख्रीबास नगरपालिका ५ की ३२ वर्षीया आशा तामाङ र सोही वडाकी ५० वर्षीया रामकुमारी तामाङको पनि पहिरोमै परेर निधन भएको हो। इलामको माई यनगरपालिका ८ का ६८ वर्षीय मैतबहादुर लिम्बु र उदयपुरकी १५ वर्षीया हिसिला तामाङको भने खोलाले बगाएर ज्यान गएको एसएसपी दाहालले बताए।

घाइते हुनेहरूमा धनकुटाको पाख्रीबास नगरपालिका ५ की २४ वर्षीया मीनमाया तामा, धनकुटाकै छथरजोरपाटी गाउँपालिकाकी २० वर्षीया सृजना मगर, फिदिम नगरपालिका २ का ६ वर्षीय आरोश तम्वापो र ७ वर्षीया आरवी तुम्वापो रहेका छन्। त्यस्तै फदिम २ का १४ वर्षीय विपल राई, फिदिम ८ का ३८ वर्षीय टीकाराम विक, सोही वडाका ३१ वर्षीय दीपेन्द्र विक पनि पहिरोबाटै घाइते भएका छन्।

त्यसैगरी ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ९ का ४६ वर्षीय पदमबहादुर दमाई, तेरथुमको छथर गाउँपालिका ६ का ५५ वर्षीया ज्ञानकुमारी लिम्बु, संखुवासभाको चैनपुर नगरपालिका ५ का ७१ वर्षीय पूर्णबहादुर लिम्बु पनि पहिरोले पुरिएर घाइते भएका हुन्। घाइते हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ का ६५ वर्षीय दलबहादुर विक, सोही वडाका ९ वर्षीय शिसिर विक, सोलु दुधकण्ड नगपालिका ९ का ६२ वर्षीया याङजी शेर्पा छन्।

घाइतेहरूको विभिन्न स्थानीय अस्पताल, स्वास्थ्य चौकी, जिल्ला अस्पताल र बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको एसएसपी दाहालले बताएका छन्।

बाढी पहिरो र डुबानमा बेपत्ता हुनेहरूमा फिदिम नगरपालिका १ का ५५ वर्षीय धनकुमार तुम्वापो, सोही वडाका ५१ वर्षीय कृष्ण दास, ४१ वर्षीया कमला दास, २१ वर्षीया सरस्वती तुम्वापो छन्। त्यस्तै पाँचथरको फालेलुङ गाउँपालिका ४ की ३६ वर्षीया कमला राई, झापाको कचनकवल गाउँपालिका १ की १४ वर्षीया नेहारिका राजवंशी, झापाकै कमल गाउँपालिका १ का ३५ वर्षीय टीकाराम चौधरी, मोरङको रतुवामाई नगरपालिका ७ की ७२ वर्षीया डुरोदेवी राजवंशी बेपत्ता रहेको प्रवक्ता एसएसपी दाहालले बताएका छन्। 

प्रकाशित: १३ आश्विन २०८१ १७:०५ आइतबार