समाज

नागरिकलाई आपत् पर्दा आकाशियो हवाई टिकट

अबिरल वर्षाले देशका विभिन्न सडक सञ्जाल अवरुद्ध गरेपछि हवाई सेवा संचालक कम्पनीहरुले हवाई टिकटमा अप्रत्याशित मूल्यवृद्धि गरेका छन्।

विपद्को समयमा यात्रुहरुलाई सस्तो दरमा टिकट उपलब्ध गराउनुपर्नेमा झनै चर्को मूल्य लिइरहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

हाल विभिन्न जिल्लाबाट काठमाडौं भित्रने मुख्य राजमार्ग अवरुद्ध छन्। यस्तो समयमा एकमात्र विकल्पका रुपमा रहेको हवाई सेवाको भाडादरमा अत्यधिक वृद्धि हुनाले यात्रुहरूलाई थप आर्थिक भार परेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए।

“विमान कम्पनीहरुले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ”, उनले भने। विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको उनले सुनाए।

वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्को समयमा यात्रुहरुलाई सहज बनाउन आफूहरू कटिबद्ध रहेको बताउँदै भने, “उच्च भाडा नलिनका लागि बैठक बसेर निर्देशन दिइसकेका छौं, अहिले पनि सस्तो दरमै टिकट उपलब्ध गराइएको छ।”

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले नियमित दरमै टिकट बिक्री भइरहेको दाबी गर्दै भने, “सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौं, तोकिएको दरभन्दा बढी लिएका छैनौं।”

काठमाडौं–विराटनगरको एकतर्फी सात हजार पाँच सय रुपैयाँमा बिक्री भइरहेकोमा विमान कम्पनीहरुले बढाएर नौ हजार नौ सय पुर्‍याएका छन्। साथै, काठमाडौं–धनगढीको एकतर्फी भाडा १७ हजारसम्म निर्धारण गरिएको छ।

हाल काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ। यस्तो अवस्थामा यात्रुहरुसँग हवाई उडानको विकल्प छैन। काठमाडौं भित्रने धादिङ्को झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ।

काठमाडौंबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौं आवतजावत गर्ने सवारी साधन रोकिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालका अनुसार हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेका छन्।

विपद्को बेला हवाई टिकट सहज बनाउनुपर्नेमा हवाई सेवा संचालक कम्पनीहरूले विपद्लाई कमाइको बाटो बनाएको सर्वसाधारणहरुले सामाजिक संजाल मार्फत गुनासो गरेका छन्।

प्रकाशित: १३ आश्विन २०८१ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App