समाज

श्रीलंककाका पूर्व राष्ट्रपति गोटावाय कपिलवस्तुमा

श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षले भीषण वर्षाको पर्वाह नगरी शनिबार प्राचीन कपिलवस्तुस्थित तीन प्रमुख बुद्धस्थलको अवलोकन गरेका छन्।

राजापाक्ष आफ्नो परिवार र नेपालका लागि श्रीलंकन राजदूत सुदर्शना पाथिरानासहितको टोलीसँगै तिलौराकोट, निग्रोधराम र निगालीकोटको भ्रमणमा निस्किएका थिए।

शुक्रबार लुम्बिनीको भ्रमणपछि उनी झरीको बाधा नलिई शनिबार कपिलवस्तु आएका थिए। भ्रमणका क्रममा सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई र पुरातत्व अधिकृत हिमाल उत्पेतीले तिलौराकोट र अन्य स्थलको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र महत्वबारे टोलीलाई जानकारी दिएका थिए।

डा. राईका अनुसार श्रीलंकनहरूले कपिलवस्तुमा विशेष श्रद्धा राख्ने हुँदा पूर्व राष्ट्रपति राजापाक्षले मायादेवी स्थललाई पनि महत्वका साथ भ्रमण गरेका थिए। निरन्तर वर्षाले यात्रा गर्न असहज भए पनि लुम्बिनी र कपिलवस्तुमा पाइला टेक्न पाउनु आफ्नो जीवनकै ठूलो उपलब्धि भएको राजापाक्षले बताएका छन्।

भ्रमण टोलीलाई तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रस्ताव गरिएको क्षेत्र भएको जानकारी पनि दिइएको थियो। केही दिनमै युनेस्कोको प्राविधिक टोलीले निरीक्षण गर्न आउने कुरा बताइएको छ।

राजापाक्षले तीन प्रमुख बुद्धस्थलमा पाइला टेक्न पाउँदा अत्यन्तै खुसी लागेको भन्दै, शान्तिको अनुभव भएको सुनाए।

तिलौराकोट राजा सुद्धोधनको दरबार भएको स्थान हो। जहाँ बुद्धले आफ्नो २९ वर्ष बिताएका थिए। निग्रोधराम भने सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि आफ्नो परिवारलाई भेटेर शिक्षा दिएको स्थल हो। त्यस्तै, निगालीकोट कनकमुनी बुद्धको जन्मस्थलका रूपमा परिचित छ।

प्रकाशित: १२ आश्विन २०८१ २०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App