समाज

मकवानपुरमा पहिरोले घर पुरिँदा एकको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका ३ मा वर्षाका कारण पहिरोले एक घर पुरिएको छ । पहिरोमा पुरिएको घरले थिचिएर एकजनाको मृत्यु समेत भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका–३ स्थित सुक्खा सल्यनीका रहरसिं थिङको २० वर्षीया छोरी फूलमाया थिङ रहेका छन् । घर माथिबाट खसेको पहिरोले पुरिएर थिङको घर बगाएको छ । उनको छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता (प्रहरी निरीक्षक) ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । 

घटना शुक्रबार रातिको भएपनि खबर ढिला प्राप्त भएको सापकोटाले बताए । निरन्तरको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा क्षति पु¥याएको छ । अविरल वर्षाका कारण बाढीले ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । बाढीले प्रहरी कार्यालय भवन समेत बगाएको हो । 

बाढीका कारण ईन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । वर्षाका कारण बकैया गाउँपालिका १० घट्टेखोला नजिकै रहेको १० वटा घर टहरामा क्षति पुगेको छ । अविरल वर्षाका कारण पहिरोले हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–मातातीर्थ–काठमाडौं र त्रिभुवन राजपथको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित: १२ आश्विन २०८१ १८:५७ शनिबार