समाज

गोरखाको चुमनुब्रीमा भारी हिमपात, पर्यटक रोकिए

गोरखाको माथिल्लो भेग चुमनुब्रीको साम्दोमा परेको हिउँ पन्छाउँदै सशस्त्र प्रहरी। तस्बिर सौजन्यः सशस्त्र प्रहरी

असोजको दोश्रो सातामै गोरखाको माथिल्लो भेगमा भारी हिमपात भएको छ। चुमनुब्री गाउँपालिका–१ साम्दो क्षेत्रमा भारी हिमपात भएको सशस्त्र प्रहरीले बताएको छ।  भारी हिमपातका कारण चिसो बढेको छ भने पदयात्राका लागि गएका विदेशी पर्यटक रोकिएको प्रहरीको भनाई छ। मनास्लु क्षेत्रको उक्त पदमार्गमा यो बेला पदयात्रीको भीडभाड हुने गर्छ।

साम्दोस्थित ३८७५ मिटर उचाईमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी)का प्रमुख प्रहरी निरिक्षक विश्व त्रिपाठीका अनुसार हिमपातले गर्दा करिब ३० जना विदेशी पर्यटक साम्दोमै रोकिएका छन्। ती पर्यटक धर्मशाला हुँदै लार्केपास गर्ने तयारीमा थिए। त्रिपाठीका अनुसार उक्त क्षेत्रमा एकदेखि पाँच फिटसम्म बाक्लो हिउँ जमेको छ। तापक्रम पनि माइनस ६ डिग्र्रीमा झरेको उनले बताए।  

उनका अनुसार हिमपातले हिडडुल प्रभावित भएपछि सशस्त्र प्रहरीको टोलीले पदमार्गको हिउँ हटाएको थियो। ‘शुक्रबार बेलुकीदेखि हिउँ पर्न थालेको थियो। रातभर हिमपात भयो। शनिबार दिउँसोसम्म पनि हिमपात जारी छ,’ उनले भने। उनका अनुसार चिसो र हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको उनले बताए।

उनका अनुसार ३५ सय मिटरको सामागाउ भन्दा माथिल्लो भेगमा हिमपात छ। सामागाउँमा एकफिटसम्म हिउँ जमेको छ। त्रिपाठीका अनुसार लार्केपास गर्न भनेर गएका विदेशी पर्यटक अहिले साम्दोमै रोकिएका छन्। उनीहरुको शनिबार नै लार्केपास गर्ने योजना थियो। तर, हिमपातले गर्दा बीचमै रोकिएका छन्।  

‘आइतबार मौसम खुल्यो र हिडडुल सहज भयो भने विदेशीहरु लार्केपास गर्न जानेछन्। नत्र साम्दोबाट गोरखातर्फ फर्किनेछन,’ उनले भने। चुमनुब्रीका साम्दो, सामागाउँ, धर्मशाला लगायतका क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन्। हिमपातको सिजन नभएपनि हिउँ परेपछि जनजीवन केही प्रभावित भएपनि पदयात्राका विदेशी पर्यटक भने रमाएको उनले बताए।  

स्थानीय वीरबहादुर लामाका अनुसार मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी पर्यटकको आरोहण भने हिमपातले प्रभावित भएको छ। ‘आधारशिविरमा २ फिट बाक्लो हिउँ परेको छ। हिउँ पर्दा हिडडुल भने सहज छैन,’ उनले भने, ‘हिमपातले रोकिएको आरोहण मौसम सहज हुनासाथ सुरुवात भईहाल्छ।’ अक्टोवर पहिलो सातासम्म मनास्लु आरोहण गर्न उपयुक्त मौसम भएकोले अहिले पनि आधारशिविरमा आरोही रहेको उनले बताए।  

मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधारशिविरमा आरोहीको भीडभाड रहेको छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुमा आएको पर्यटन विभागको भनाई छ। पर्यटन विभागका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ टिमले स्वीकृति लिएका छन्। ती टिममा २ सय २६ जना पुरुष र ८२ जना महिला छन्। सबैगरि यो वर्ष ३ सय ८ जनाले यो सिजनमा मनास्लु आरोहणका लागि स्वीकृति लिएको विभागको भनाई छ। यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएकोमा सबैभन्दा बढी मनास्लुका लागि छन्।

प्रकाशित: १२ आश्विन २०८१ १७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App