समाज

चरिकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु

अविरल वर्षापछि गएको पहिरोमा परेर दोलखाको भीमेश्वर नगरपालिका-६ चरिकोट स्थित सिमपानीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

जिल्लाका प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार शनिबार दिउँसो सदरमुकाम चरिकोट स्थित सिमपानीको पानी ट्याङ्की नजिक घ्याङचौरमा राजकुमार भुजेलको घर पहिरोले पुर्दा राजकुमार, उनकी पत्नी राधिका र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको हो।

पहिरोमा पुरिएका राजकुमार र उनकी पत्नी राधिकाको शव पहिरोस्थलबाट निकालिएको र घाइते अवस्थामा भेटिएका सुजनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।

भुजेल दम्पतीका २ वर्षीय नाबालक छोराको जीवितै उद्धार गरिएको प्रहरीले बताएको छ।

प्रकाशित: १२ आश्विन २०८१ १६:३७ शनिबार