समाज

श्रीलंका टापुमा फसेका २१ जनाको उद्धारमा समस्या

सप्तकोशीपूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर करिब तीन किलोमिटर पश्चिमको श्रीलंका टापुमा फसेका २१ जनालाई उद्धारमा समस्या भएको छ। श्रीलंका टापुको पश्चिममा समेत कोशीको भँगालो रहेको र सप्तकोशीमा पानीको बहाब खतराको तह पार गरेकाले गर्दा समस्या भएको हो।

नदीको बीचमा बस्ती भएकाले शुक्रबार रातिदेखि नै फसेकालाई उद्धार गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखले हेलिकप्टरबाट उद्धार गर्ने योजना बनाए पनि अहिलेसम्म सम्भव भएको छैन।

‘उद्धारका लागि केन्द्रीय सरकारसमक्ष हेलिकप्टरको कुरा मुख्यमन्त्रीले गर्नुभएको छ, मौसमले पनि साथ दिइरहेको छैन’, बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले भने, ‘सुरक्षा निकायसँग सबै तैनाथ भए पनि हेलिकप्टर आउनासाथ उद्धार गरिने छ।’

अरु उपाय नहुँदा हेलिकप्टर नै पर्खनुपरेको उनले बताए। श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बिचमा अवस्थित छ। बर्खामा बस्ती घेरिन्छ र टापुको रूप धारणा गर्दछ। नगरपालिकाले श्रीलंका टापुमा नबस्न अपिल गरे पनि अटेर गरेर बसेकाले पनि समस्या भएको मेयर कार्कीले बताए।  

पाँच दशकअघि कोशीका दुवै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यतिबेला श्रीलंका टापु थिएन। अहिले कोशीपूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो।

प्रकाशित: १२ आश्विन २०८१ १३:२२ शनिबार

#rescue