समाज

कोशीमा पानीको बहाव यस वर्षकै उच्च, भारतको बिहारसम्मै सतर्कता

निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाब यस वर्षकै उच्च मापन गरिएको छ।

शनिबार बिहान ११ बजेको मापनअनुसार कोशीको पानीको बहाब ४ लाख २० हजार ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिएको छ। कोशी नदीमा पानीको बहाब एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति कन्ट्रोल कक्षमाथि रातो बत्ती बाल्ने गरिन्छ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन् १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो।  सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो।

कोशी ब्यारेज बनेपछिको सुरुवाती वर्षहरूमा कोशी नदीबाट कञ्चन पानी बग्थ्यो। वर्षाको पानी माथिबाट गेग्रान बोकेर आउँदैनथ्यो। र, बहाव बढ्दा पनि बाँध र पुलमा जोखिम कम हुन्थ्यो, तर पछिल्ला वर्षहरूमा वर्षा हुँदा पानीभन्दा अधिक गेग्रान बोकेर कोशीमा बाढी उर्लिदा जोखिम बढाउने गरेको जलाधार विज्ञहरू बताउँछन्। अझ कोशी पुल निश्चित आयु पनि पार गरिसकेकाले खतरा जोखिम झन् बधाएको छ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाब हुँदा कोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। तटबन्ध भत्काएर कोशी बस्ती पस्दा सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका थिए। ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाब उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो।

भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। बहाब उच्च भएपछि पूर्वीतटीय सुनसरी र पश्चिमी तटीय सप्तरी क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गरेका छन्।

कोशीमा बहाब उच्च भएपछि भारतको बिहार राज्री पटनास्थित जल संसाधन विभागकाले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए। जारी सूचनाअनुसार शनिबार कोशीमा जलस्तर ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने अनुमान छ।

प्रकाशित: १२ आश्विन २०८१ ११:५७ शनिबार

#Koshi River