समाज

भेरी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु

लगानीका हिसाबले मेलम्चीपछिको दोस्रो ठूलो मानिएको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका हालका १६ वटा वडामध्ये १३ वटा वडामा बसोबास गर्ने नागरिकलाई खानेपानी उपलब्ध गराउने उद्देश्यसहित भेरी लिफ्टिङ आयोजना सुरु भएको हो। आयोजनाको लागत पाँच अर्ब ४६ लाख रूपैयाँ छ।

आयोजना सम्पन्न भएपछि वीरेन्द्रनगर उपत्यकामा दैनिक प्रतिसेकेन्ड ५६० लिटर पानी आपूर्ति हुनेछ। यो भनेको सन् २०५० सम्म वृद्धि हुने उपत्यकाको जनसंख्यालाई पुग्छ। त्यतिबेलासम्म वीरेन्द्रनगर उपत्यकामा अहिलेको भन्दा दोब्बर बढी जनसंख्या हुने अनुमान छ। सन् २०५० मा यहाँको जनसंख्या तीन लाख ८४ हजार ७५९ पुग्ने प्रक्षेपण गरिएको छ।

हाल वीरेन्द्रनगरमा डेढ लाखको हाराहारीमा रहेको जनसंख्यालाई दैनिक ३२० लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्छ। वीरेन्द्रनगरमा हाल १५३ लिटर प्रतिसेकेन्ड दैनिक पानी आपूर्ति भइरहेको छ। खडेरीका बेला पानीमा लोडसेडिङ हुन्छ। धारामा हप्तौंसम्म पानी आउँदैन। यही समस्याको दीर्घकालीन समाधानका लागि भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगर ल्याउन लागिएको हो।

आयोजना निर्माणका लागि तीन तहका सरकारबिच दुई वर्षअघि नै सम्झौता भएपनि ठेक्का प्रक्रिया ढिलो गरेर सुरु भएको थियो। आयोजनाको पहिलो चरणको ठेक्का चिनियाँ कम्पनी झेजियाङ टिम्स इन्टरनेसनल कम्पनीले पाएको छ। कम्पनी र आयोजना कार्यान्वयन एकाइबिच अघिल्लो महिना तीन अर्ब पाँच करोड आठ लाख पाँच हजार २१७ रूपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ।  

चिनियाँ कम्पनीले ठेक्का पाएको पहिलो चरणको काममा मुहानमा इन्टेक निर्माण, मोटर जडानका लागि संरचना निर्माण र भेरी नदीदेखि उपत्यकाको अमृतडाँडासम्म ६.८ किलोमिटर पाइपलाइन विस्तार र अमृतडाँडामा तीन हजार घनमिटरका तीन वटा इन्टेक निर्माण हुनेछन्। यी कामहरू गर्नका लागि तीन वर्षको समय तोकिएको छ।

पहिलो चरणको काम सम्पन्न भएपछि मात्रै दोस्रो चरणको कामका लागि ठेक्का हुनेछ। दोस्रो चरणको काम उपत्यकामा पाइपलाइन विस्तारको हो। यो काम ६ महिनामा सम्पन्न हुने लक्ष्य लिइएको छ।

आयोजना प्रमुख सञ्जीवकुमार शाहले तोकिएकै समयमा पहिलो चरणको काम सम्पन्न हुने बताए। क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले कर्णाली र सुदूरपश्चिम प्रदेशका ६ वटा स्थानीय तहमा खानेपानी आपूर्तिका लागि आयोजना कार्यान्वयनको काम गरिरहेको छ। तीमध्ये सबैभन्दा ठूलो आयोजना वीरेन्द्रनगरको हो। सबैभन्दा पहिले ठेक्का सम्झौता भएको पनि यही आयोजना हो।

चिनियाँ कम्पनीका नेपाल प्रतिनिधि सुशील श्रेष्ठले सबैको सहयोग पाए काम समयमै सम्पन्न हुने बताए। तत्काल विश्व बैंकको ऋण सहयोगमा निर्माण गरिने यो आयोजनामा कर्णाली प्रदेश सरकारको ७० प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ।

आयोजनाको डिजाइनअनुसार भेरी नदीको झुप्रा खोला किनारमा दुईवटा इन्टेक बनाइनेछ। ती इन्टेकमा झुप्राखोला र भेरी नदीको दोभान नजिकबाट नदीको पानी डाइभर्ट गरेर जम्मा गरिनेछ। इन्टेकमा पम्पिङ मेसिन जडान गरिनेछ। उक्त इन्टेकबाट चार सय मिटरको दुरीमा प्रशोधन संरचना रहनेछ।

त्यहाँबाट प्रसारण लाइनका रूपमा ६.८ किलोमिटर पाइप उपत्यकाछेउको अमृतडाँडासम्म विस्तार गरिनेछ। उक्त पाइपलाइनमार्फत ५६० लिटर प्रतिसेकेन्ड पानी अमृतडाँडासम्म पुग्नेछ। अमृतडाँडामा निर्माण गरिएका इन्टेकमा जम्मा गरिएको पानी उपत्यकामा जम्मा गरिनेछ।

उपत्यकाभित्र खानेपानी वितरणका लागि ३५ किलोमिटर वितरण लाइन निर्माण हुनेछ। भेरीको पानी वीरेन्द्रनगरछेउसम्म ल्याइपु¥याउन तीन मेगावाट विद्युत् आवश्यक पर्छ। यसका लागि इन्टेकसम्म ३३ केभिए विद्युत् प्रसारण लाइन निर्माण गर्नुपर्नेछ।

प्रकाशित: १२ आश्विन २०८१ १०:४१ शनिबार