समाज

सार्वजनिक बसमा छुटेको नगद र गहनासहित झोला फिर्ता

सार्वजनिक बसमा एक जना महिलाको छुटेको नगद र गहनासहितको ‘ब्याग’ ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरिदिएको छ ।

सार्वजनिक बसमा चढेर सुनसरीको धरानबाट मोरङको गोठ गाउँ आएकी धनकुटाको शहिद भूमि गाउँपालिका–४ खोकुछिन्ताङकी राधिका राईको नगद र गहनासहितको ब्याग बसमा छुटेको थियो । धरानबाट को १ ख ६७९४ नम्बरको बस चढेर गोठ गाउँमा ओर्लने क्रममा राईले ब्याग बसमै बिर्सिएर त्यहीँ  छुटेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।

पैसा र गहनासहितको ब्याग बसमै छुटेको भन्दै राईले तत्कालै प्रहरीलाई खबर गरेको बताउँदै, ट्राफिक प्रमुख लम्सालले भने, ‘गोठ गाउँबाट छुटेको बसलाई ट्राफिक प्रहरी पोस्ट बेलबारीका वरिष्ठ सई (वरिष्ठ प्रहरी नायव निरीक्षक)लोकबहादुर दियाली नेतृत्वको टोलीले सवारीसाधन चेक गर्ने क्रममा महिलाले बोक्ने हाते झोला (हेण्ड ब्याग) फेला प¥यो । ब्याग हेर्दा नगद ७२ हजार ५ सय रुपैयाँ तथा १ तोला सुन र १ तोला चाँदीको गहना रहेछ । नगद र गहना भेटिएपछि सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाइयो ।’

समयमै प्रहरीलाई खबर गरेकाले ब्याग भेटियो । बसमा विभिन्न किसिमका व्यक्ति सवार हुने हुँदा आफ्नो सामानको ख्याल गर्नुपर्छ, ट्राफिक प्रहरी प्रमुख लम्सालले भने । 

प्रकाशित: ११ आश्विन २०८१ २०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App