समाज

झापामा अमरखुट्टा खोलाले मोटरसाइकल बगायो, चालकको सकुशल उद्धार

फाइल तस्बिर

झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ।

अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए।

उनका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ। 'पानी निरन्तर परिरहेको छ', उनले भने, 'कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढदै गएको छ।'

वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताए।

यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ का रवीन भट्टराई भने सकुशल छन्।  

वर्षाले उडान अवरुद्ध

झापाको चन्द्रगढी विमानस्थलमा गए रातिदेखिको अविरल वर्षाका कारण हवाई उडान प्रभावित भएको छ। शुक्रबार कुनै पनि उडान तथा अवतरण नभएको विमानस्थलका सूचना अधिकारी वीरेन्द्र भट्टराईले जानकारी दिए।

शुक्रबार दिउँसो केही समयका लागि विमानस्थल खुले पनि फेरि बन्द भएको उनले बताए। विमानस्थल मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा विमानस्थलमा तीन सय दुई दशमलव ४ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित: ११ आश्विन २०८१ १८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App