समाज

चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती

जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खाली रहेको घर, सरकारी कार्यालय र भिडभाड हुने बजारहरू रहेको उल्लेख गरेको छ ।

 त्यस्तै एटिएम बुथ, खसी बजार, गरगहना पसल, धार्मिक स्थल, शक्ति पीठ, पुजा स्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ ।

पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरूमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए । उनले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरूको सुरक्षा गर्ने बताए। त्यसै गरी धार्मिक मठमन्दिर तथा जात्राहरूको सुरक्षा गर्ने पनि उनले जानकारी गराए। 

प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बढी भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरूमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिए। त्यसै गरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उनको भनाई छ ।

त्यसै गरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भिडभाड बजारमा पकेटमार हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्ति पीठ, मन्दिर तथा पूजा स्थलमा पनि गस्ती हुने उनले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले शक्तिपीठहरुमा विशिष्ट व्यक्तिहरूको सुरक्षाको व्यवस्था मिलाइएको बताए ।

त्यसै गरी खसी बजारमा पकेटमार, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरूमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।टिकट काउन्टरहरूले महँगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरे ।

प्रकाशित: ११ आश्विन २०८१ १४:४१ शुक्रबार

#public #District Police Complex Kathmandu #Safety plan