समाज

विमानस्थल लाइट जडानमा अनियमितता आशंकामा अख्तियारको अनुसन्धान

त्रिभुवन विमानस्थलको पेरिमिटर लाइट जडानमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। एक महिनाअघि अख्तियार टोली त्यहाँ जडित लाइटको अवस्था के–कस्तो र कुन गुणस्तरका छन् भनेर नापजाँच गरी फर्किएको थियो।

विमानस्थलमा जडित सबैजसो लाइट कमसल भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। विमानस्थल सुरक्षाका लागि पेरिमिटर स्ट्रिट लाइट राखिएको थियो। त्यहाँ राखिएका लाइट निर्माणको भौतिक संरचना कमजोर भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। करिब दुई करोड रूपैयाँबराबरको काममा मिलेमतोमा एक करोड बढी भ्रष्टाचार भएको स्रोतले जनाएको छ।

‘काम सानो हो तर आधा रकम खर्च भयो, आधा रकम मिलेमतोमा भ्रष्टाचार भयो,’ स्रोतले भन्यो। दुई करोडको काममा एक करोडको पनि बत्ती जडान भएको थिएन, एक करोड बढी त मिलेमतोमा भ्रष्टचार नै भयो,’ स्रोतले भन्यो।

पोलसहितको बत्ती अहिले उखेलेर राखिएको छ। ‘अहिले ती पोल उखेलेर राखिएको छ,’ विमानस्थल प्रशासन स्रोतले भन्यो। कोटेश्वर क्षेत्रको भिओरमा पनि अर्को बत्ती जडान गर्न लागिएको छ।

अख्तियारले विमानस्थल प्रशासनबाट सबै कागजपत्र लगिसकेको छ। कागजपत्र आफ्नो नियन्त्रणमा लिएपछि भदौको तेस्रो साता अख्तियारको टोली विमानस्थल पुगेर बत्ती जडानको विषय र गाडेको पोलको विवरण संकलन गरेर फर्किएको थियो।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले अख्तियारले विवरण मागेको बताए। ‘अख्तियारले विभिन्न विषयमा जानकारी माग्छ, हामीले पठाएका छौं, बत्ती जडानको विषय पनि मागेको थियो, पठाइसकिएको छ अख्तियार काम गर्दै होला,’ महाप्रबन्धक निरौलाले भने।

उनले विमानस्थलमा अख्तियारका कर्मचारी टोलीले आएर अनुसन्धान गरेको विषय भने आफूलाई जानकारी नभएको बताए। ‘अख्तियारका कर्मचारीहरू आएर नापजाँच गरेको वा अनुसन्धान गरेको बारेमा मलाई जानकारी छैन’, निरौलाले भने।

बत्ती जडान कार्य महावीर श्री इन्टरनेसनलले गरेको थियो। त्यतिबेला विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी रहेका थिए। उनकै समयमा विमानस्थल क्षेत्रमा एकजना नाङ्गो मान्छे प्रवेश गरेको भेटिएपछि असुरक्षा महसुस गरी पेरिमिटर लाइट जडान गरिएको थियो। तर केही ठाउँमा लाइट जडान गरिएको र धेरै ठाउँमा जडान नगरी विवरण मात्रै देखाएर बिल पेस गरिएको स्रोतको दाबी छ। त्यसमा विानस्थलका केही कर्मचारीको पनि संलग्नता रहेको स्रोतले जनाएको छ।

विमानस्थलमा नाङ्गो मान्छेको प्रवेश गरेको एक वर्षपछि २०७८ सालमा नेपाली सेनाले पनि त्यहाँको सुरक्षा जोखिमबारे अध्ययन गरेको थियो। नेपाली सेनाले तयार पारेको प्रतिवेदनका आधारमा पेरिमिटर लाइट जडान विस्तार गर्ने भनेर विमानस्थल प्रशासनले वार्षिक कार्ययोजनामै राखेको थियो। सोअनुसार विमानस्थलमा कहिले लाइट जडान गर्ने त कहिले निकाल्ने गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) को पेरिमिटर सुरक्षामा देखिएका कमीकमजोरी, सुधार गर्नुपर्ने पक्ष र विमानस्थल सुरक्षाका लागि आवश्यक राय सुझावसहितको अध्ययन प्रतिवेदनअनुसार जडित लाइटमा पनि घोटाला भएको आशंका गरिएको छ।

यति मात्र होइन, २०७७ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको एटिसी टावर कन्ट्रोल जडानमा खर्च गरेको आठ करोड रूपैयाँमा पनि अख्तियारले छानबिन गरिरहेको छ।

विराटनगर, राजविराज, थामखर्क, फाप्लु, नेपालगन्ज, दाङ, रारा, डोटी, साँफेबगर, बलेवा, रुम्जाटार र सिमिकोट विमानस्थलमा एटिसी टावर कन्ट्रोल जडान गरिएको थियो।

यसैगरी प्राधिकरणले डोटी, साँफेबगर, राजविराज, रुकुम, जनकपुर, सिमरा, बलेवा, रारा, चन्द्रगढी, भरतपुर विमानस्थलमा मौसमी सूचना प्रणाली जडानमा खर्च गरिएको चार करोड २६ लाख रूपैयाँमा पनि छानबिन भइरहेको अख्तियार स्रोतले जनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि यन्त्र तथा उपकरण खरिद तथा जडानका लागि ६० करोड र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, चन्द्रगढी, जनकपुर, सिमरा, भरतपुर र धनगढी विमानस्थलमा एक्स–रे खरिद तथा जडानका लागि १४ करोडमा पनि अख्तियारले छानबिन गरिरहेको छ।

प्रकाशित: ११ आश्विन २०८१ ०७:१४ शुक्रबार

# Bimansthal Light Jadan # suspected irregularity