समाज

संयुक्त अनुगमन टोलीद्वारा ताप्लेजुङका माछा तथा मासु पसलको अनुगमन

न्यूनतम् व्यवसायिक मापदण्डबारे जानकारी गराइयो

ताप्लेजुङका मासु तथा माछा व्यवसायीलाई जिल्ला अनुगमन समितिले सुरक्षित तवरले बिक्री वितरण गर्दा अपनाउनुपर्ने न्यूनतम् व्यवसायिक मापदण्डबारे सचेत गराएको छ।

फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त संयोजनमा गरिएको अनुगमनमा माछा तथा मासु सुरक्षित गर्ने तरिका र बिक्री वितरण मापदण्डबारे जानकारी गराइएको हो। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार केही माछा तथा मासु व्यवसायीले बिक्रीजन्य वस्तु खुला रूपमै राखी बिक्री वितरण गर्ने गरेका छन्। ‘सम्भव भए सिसाले बारेर र कुनै सम्भव नभए झुल वा त्यस्तै अन्य प्रकारको कपडा समेतले सुरक्षित गरेर माछा तथा मासु राख्न सचेत गराएका छौं’दाहालले भने।

 उनका अनुसार फुङलिङमा रहेका १४ वटा माछा तथा मासु बिक्री केन्द्रहरूको अनुगमन गरिएको छ। अनुगमनको क्रममा सडक पेटी ढाकेर बाहिर माछा तथा मासु पसल सञ्चालन गर्ने सञ्चालकलाई भित्र व्यवस्थापन गरेर बिक्री कक्ष कायम गर्न ७ दिनको समयावधि दिइएको छ। यो अवधिमा समेत सुधार भएको नपाइएको आवश्यक कानुनी प्रक्रिया अवलम्बन गरिने सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताए।

यस्तै मूल्य सूची नभएका माछा तथा मासु पसललाई सबैले देख्नेगरी मूल्य सूची राख्न तथा मूल्य सूची भएर पनि दैनिक मूल्य सूची अद्यावधिक नगरेका पसल सञ्चालकलाई बिहीबारबाटै मूल्य सूची अद्यावधिक गरी नियमित गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साईले जानकारी दिए।

 फुङलिङ नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक दीपेन्द्र भट्टराईका अनुसार अनुगनमको क्रममा माछा तथा मासु डिफ्रिजिङ गर्ने तरिका समेत सिकाईएको छ। बिक्री गर्ने समयभन्दा धेरै अघि र धेरै परिमाणमा डिफ्रिजबाट माछा तथा मासु बाहिर नराख्न,बिक्री गर्ने स्थलको सफाइमा विशेष ध्यान दिन,बिक्रीस्थल व्यवस्थापन गर्न समेत व्यवसायीलाई अवगत गराइएको संयुक्त अनुगमन टोलीले जनाएको छ।

ताप्लेजुङमा उपभोग्य वस्तु बिक्रीवितरणबारे कार्यसूची बनाई अनुमगन हुँदै आएको छ। ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बूले माछा तथा मासु,खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु,चाडपर्वका बेला बढी उपभोग हुने चिजवस्तुको कार्यसूची बनाई नियमित रूपले अनुगमन गरिदैं आएको बताए। उनका अनुसार कहिले थोक बिक्री स्थल तथा कहिले खुद्रा पसलहरूको अनुगमन गरिदै आएको छ। कार्यसूची अनुसार होटल पसलहरू समेत अनुगमन गरिने छ। उपभोग्य म्याद गुज्रिएका र अखाद्य बस्तु बिक्री वितरण स्थलमा भेटिए जफत गरी नष्ट गरिदैं आएको समेत उनले जानकारी दिए।  

प्रकाशित: १० आश्विन २०८१ ११:५४ बिहीबार

# Joint Monitoring Team