समाज

इलेक्ट्रिक साइकलको शोरुममा आगलागी

विराटनगर महानगरपालिका–२ मुनालपथस्थित एक इलेक्ट्रिक साइकलको शोरुममा आगलागी भएको छ।

विराटनगरकै मनिष बंसलले सञ्चालन गरेको भव्या इन्टरनेशनलमा बुधबार दिउँसो २ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार ब्याट्री, ब्याट्रीवाला इलेक्ट्रिक (स्कुटर, साइकल), इन्भर्टर र साधारण साइकलको शोरुममा आगलागी भएको हो।

विद्युत् (इलेक्ट्रिक) सम्बन्धी कारोबार हुने गरेको शोरुममा दिउँसो आगलागी हुँदा शोरुमभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘करिब पौने २ घण्टाको प्रयासमा आगो पूर्ण रुपमा नियन्त्रणमा आयो। छेउमा अर्को मोटरसाइकलको शोरुम रहे पनि त्यहाँ क्षति भएको छैन। टाँसिएको स्थान हुँदा धुवाँको मुस्लो पस्न थालेपछि मोटरसाइकल सुरक्षित स्थानमा सार्न सकियो।’

भव्या इन्टरनेशनलको शोरुम आगोले जलेर पूर्ण नष्ट भए पनि क्षतिको पूर्ण विवरण आएको छैन। प्रारम्भिक क्षतिको विवरण प्राप्त भएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘स्कुटर साइकल ८० थान, इन्भर्टर ६० थान, ब्याट्री २ सय थान, फर्निचर, एसी, ल्यापटप २ थान र कम्प्युटर १ थान खुले पनि अन्य विवरण आउन बाँकी रहेको छ। यी सामाग्रीको मूल्य यकिन भइसकेको छैन।’

आगलागी के कारणबाट भयो भन्ने खुली सकेको छैन। तर, घटना स्थलको प्रकृति हेर्दा विद्युतीय सामाग्रीको प्रयोग गर्ने गरेको देखिएकाले विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने डिएसपी बस्नेतले बताए। घटनाको थप अनुसन्धान भइरहेको छ।

आगलागी सुरु हुनसाथ दमकललाई खबर गरे पनि आधा घण्टा ढिला गरी आएको हुँदा आगो नियन्त्रणमा लिन समय लागेको र सम्पूर्ण सामान जलेर नष्ट भएको आरोप स्थानीयहरुले लगाएका छन्।

दमकल रहेको स्थानबाट घटना स्थलसम्म आइपुग्न करिब १० मिनेट लाग्छ। तर, दमकल ढिलो आएको भन्दै स्थानीयहरुले महानगरपालिकाप्रति आक्रोश पोखेका थिए।

आगो नियन्त्रण लिन विराटनगर महानगरपालिका, जहदा गाउँपालिका र दुहबी नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरीका साथै स्थानीयले पहल गरेका थिए।

प्रकाशित: ९ आश्विन २०८१ २१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App