समाज

भारी वर्षाको चेतावनी, ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी

मनसुन सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार सातवटै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। यस अलर्टले ती क्षेत्रमा उच्च जोखिम रहेको संकेत गर्दछ।

पहिलेको बुलेटिनमा २७ जिल्ला मात्रै उच्च जोखिममा रहेको बताए पनि आज जारी विशेष बुलेटिनमा यो संख्या बढाएर ५६ जिल्ला पुर्‍याइएको हो। मौसमविद्हरूले कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि अत्यधिक भारीसम्म वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेका छन्। यसअघि, महाशाखाले केवल मध्यम वर्षाको चेतावनी दिएको थियो।

मौसमविद् प्रतिभा मानन्धरले यसपालिको मनसुन केही दिन लम्बिने बताएकी छन्। उनका अनुसार मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहारनजिकै आइपुग्नेछ।

बिस्तारै मनसुन बाहिरिने भएकाले अक्टोबर २ अर्थात् घटस्थापनाको अघिल्लो दिनसम्म नेपालबाट मनसुन बाहिरिन्छ।

कृषि, यातायात र जनजीवन प्रभावित हुने सम्भावना

यस भारी वर्षाले विशेष गरी कृषि क्षेत्रमा गम्भीर असर पार्न सक्ने महाशाखाको चेतावनी छ।

किसानहरूलाई खेतीपाती सुरु गर्नु अघि मौसमको अपडेट जानकारी लिइरहन सुझाव दिइएको छ। साथै, बाढी, पहिरो, भूक्षय र तराई क्षेत्रमा डुबानको जोखिम रहेको छ।

ठूला तथा साना नदी-नालामा पानीको सतह बढ्ने, सडक, स्वास्थ्य, पर्यटन र हवाई यातायातसमेत प्रभावित हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालाहरूलाई अपिल गरिएको छ।

प्रकाशित: ९ आश्विन २०८१ १८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App