समाज

दुध नदीमा डुबेर बेपत्ता युवा अझै भेटिएनन्

दुई दिनअघि दुध नदीमा डुबेका खोटाङका एक युवक अझै भेटिएका छैनन्।

साथीहरुसँगै माछा मार्ने क्रममा खोटाङ र उदयपुरको सीमा भएर बग्ने दुध नदीमा डुबेका हलेसी तुवाचुङ नगरपालिका-६ मङगलटारका १८ वर्षीय धनश्याम पुलामी मगर अझै नभेटिएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार आइतबार साँझ माछा मार्ने क्रममा कुखुरेबेंसीस्थित नदीमा चिप्लिएर चप्पल बगेपछि समात्न खोज्दा उनी डुबेका थिए।

जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काका अनुसार डुबेर बेपत्ता मगरको खोजीमा घटनास्थलदेखि तल-तलसम्म प्रहरी र स्थानीयको टोली पुग्दा पनि भेटिएको छैन।

‘गाउँकै ७/८ जनाको समूहमा माछा मार्न गएका रहेछन्’ इलाका प्रहरी कार्यालय हलेसीलाई उद्धृत गर्दै डिएसपी खड्काले भने ‘माछा मारेर फर्कने क्रममा चप्पल बगेपछि लिन फर्कँदा डुबेर बेपत्ता भएछन्।’

साँझको घटना भएको र रात परेकाले पनि खोजी गर्न समस्या परेको उनले सुनाए। आफन्त, स्थानीयवासी, इलाकाका प्रहरीसमेतको टोली परिचालन गर्दा पनि उनी अझै भेटिएनन्।

बेपत्ताको खोजीमा भोलिपल्टै इटहरी पकलीस्थित सशस्त्र प्रहरी बल मुख्यालय पकली बराहा बाहिनीबाट गोताखोर झिकाएर परिचालन गरिएको डिएसपी खड्काले बताए।

प्रकाशित: ९ आश्विन २०८१ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App