समाज

खेल मैदान निर्माणका लागि रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानको सहयोग

स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले बुधवार ताप्लेजुङको मैवाखोला मावि तेम्बेको खेल मैदान निर्माणार्थ १ लाख १ हजार १ सय रुपैयाँ प्रदान गरेको छ।

विगत ५ वर्षदेखि सामाजिक सहयोग गर्दै आइरहेको प्रतिष्ठानले यसपटक सो माविको खेलमैदान निर्माणका लागि उक्त सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिए।

उक्त रकम बुधबार पत्रकार सम्मेलन मार्फत घोषणा गरी मैवाखोला मावि तेम्बेको खातामा जम्मा हुने गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमबहादुर वनेम र प्रधानाध्यापक भक्तबहादुर लिम्बूलाई पठाइएको समेत लिङ्खिमले जानकारी दिए।

प्रतिष्ठानले स्थापनाको पहिलो वर्ष २०७७ सालमा कोरोना संक्रमण विरुद्ध अग्र भागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको थियो।

२०७८ सालमा फरक क्षमता भएका यहाँका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको थियो भने २०७९ सालमा ताप्लेजुङमा रहेका दृष्टिविहीन सदस्यहरुलाई न्यानो कपडा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार २०८० सालमा यूवावर्ष मावि कैंजलेमा अध्ययनरत २ सय ४० जना विद्यार्थीहरुलाई करिब २ लाख रुपैयाँ मूल्य बराबरको शैक्षिक सामग्री प्रदान गरिएको थियो। विद्यालयमा खेल मैदानको निर्माण तथा बिस्तारको काम गरिरहेको मैवाखोला माविलाई यसवर्ष १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

विक्रम् सम्वत २००४ सालमा जन्मेका पूर्व ब्रिटिस गोर्खा सैनिक रणबहादुरको २०५३ साल असोज ९ गते बुधवार निधन भएको थियो। २०२५ सालमा ब्रिटिस गोर्खा सैनिकमा भर्ना भएका रणबहादुर २०४० सालमा सेवा निवृत्त भएका थिए। मृत्यु पछि रणबहादुरका परिवारले उनको स्मृतिमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले प्रतिष्ठान खोलेर त्यसयता बर्षेनि सहयोग गर्दै आइरहेका छन्। 

प्रकाशित: ९ आश्विन २०८१ १६:४४ बुधबार