समाज

अनिवार्य टिकट लिएर यात्रा गर्न खोटाङ प्रशासनको आग्रह

सर्वदलीय बैठकमा सहभागी सरोकारवालाहरू। तस्बिरः महेश्वर

नजिकिएको दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरी खोटाङ प्रशासनले सार्वजनिक सवारी साधनमा अनिवार्य टिकट लिएर सवारी चढ्न तथा भाडा बढी नलिन कडाइ गरेको छ।

जिल्ला प्रशासन कार्यालयले यात्रा गर्दा अनिवार्य टिकट लिएर मात्र गर्न यात्रुहरूलाई र बढी भाडा नलिन व्यवसायीलाई आग्रह गरेको हो।

सार्वजनिक यातायातमा मनपरी भइरहेको गुनासोका आधारमा प्रशासनले नियमन गर्ने गरी यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवबहादुर कार्कीले बताए। उनका अनुसार यात्रा गर्ने सबै यात्रुलाई अनिवार्य टिकट लिएर मात्रै सवार गर्न आग्रह गरिएको तथा यातायात व्यवसायीलाई पनि तोकिएभन्दा बढी भाडा नलिन निर्देशन दिइएको छ। प्रशासन कार्यालयको अगुवाइमा भएको यातायात व्यवसायी र सरोकारवाला निकाय र व्यक्तिहरूको बैठकले यस्तो निर्णय गरेको सिडिओ कार्कीले बताए।

नजिकिदै गरेको दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसार तथा उँधौली पर्वमा सर्वसाधारणको बाक्लो आउजाउ हुने हुँदा यातायात क्षेत्रमा बदमासी हुने कुराप्रति सचेत हुँदै यस्तो निर्णय गरिएको हो। चाडपर्व मनाउन टाढा टाढाबाट स्थानीय सर्वसाधारण घर फर्कने तथा विभिन्न जागिर तथा पेसा व्यवसाय कार्यरत कर्मचारीहरू आफ्नो घर फर्कने हुँदा यातायातमा भिडभाड हुने मौका छोपेर बदमासी हुने हुँदा प्रशासनले कडाइ गर्न खोजेको जनाएको छ।

‘चाडपर्वको बेला सर्वसाधारणको बाक्लो आउजाउ हुने हुँदा यस्तो बेला हुलमुलको मौका पारेर दलाल, बिचौलियाहरूले ठगी धन्दा चलाउने गरेको पाइन्छ’ प्रशासनले जनाएको छ ‘त्यसैले सर्वसाधारणदेखि व्यवसायी कोही पनि नठगिउन् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।’ अनिवार्य टिकट काटेर यात्रा गर्दा गन्तव्य सुरक्षित हुने तथा तोकिए बमोजिम मात्र भाडा लिँदा ठगिनुबाट बच्ने प्रशासनको भनाई छ।

चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले भर्खरै राखेको सर्वपक्षीय बैठक राखेर गरेको निर्णयको जिल्लाभरि कार्यान्वयन गर्न सबैसँग आग्रह गरिएको छ। खोटाङका २ नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह सबैलाई सर्वपक्षीय निर्णयको प्रतिलिपि पठाइएको र कार्यान्वयनका लागि निर्देशनात्मक आग्रह गरिएको छ।

राजधानी काठमाडौँ, पोखरा, विराटनगर, धरानलगायत विभिन्न सहरबाट जिल्ला भित्रिने तथा जिल्लाबाट बाहिरिने सवारी साधनमा यसअघि भाडा दर बढी रहेको तथा साना खाले सवारी साधन (जिप र भेन)ले तोकिएभन्दा बढी भाडा असुल्दै आएको, टिकट नदिने गरेको गुनासो आउने गरेकाले पनि यस्तो निर्णय गरिएको सिडिओ कार्कीको भनाई छ।

उनले निर्णय कार्यान्वयन गराउन नियमित अनुगमन पनि गरिने बताए। जस अनुसार यात्रुले टिकट काटेर या नकाटी यात्रा गरेको विषयमा अनुगमन गर्न सदरमुकाम दिक्तेल, उदयपुर र ओखलढुङ्गा सीमा स्थल जयरामघाट, गाईघाटलगायत विभिन्न सिमानाका र पोस्टहरूमा प्रहरी परिचालन गरी चेकजाँच गरिनेछ। त्यसैगरी तिनै ठाउँहरूमा यात्रा गर्ने सर्वसाधारणको टिकट र भाडा दर बढी लिए नलिएको भन्ने विषयमा पनि अनुगमन गरिनेछ।

अनुगमनको क्रममा निर्णयभन्दा दायाँबायाँ गरेको पाइए तत्काल कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ। सर्वदलीय बैठकले कसैले भाडा बढी लिएको पाए वा टिकट नकाटी यात्रु सवार गरेको पाए तुरुन्त प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ। बढी भाडा लिए वा टिकट नलिई हिँडेको पाए प्रचलित कानून अनुसार कारबाही गर्न मातहत कार्यालयहरूलाई अधिकारसहित प्रहरी परिचालन गरिएको गरिएको पनि प्रशासनले जनाएको छ।

जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई,स्थानीय तह जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र, व्यवसायी, जिल्लामा क्रियाशील राजनीतिक दल, यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घलगायत सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालित जिप तथा यात्रुवाहक बसहरूको भाडा दर पनि पुरानै कायम गरेको छ। यातायात व्यवसायी संघका प्रतिनिधिले चाडपर्वमा जिल्ला भित्रिनेहरू मात्र पाइने, बाहिरिने यात्रु नपाइने भएकाले भाडा बढाउनुपर्ने प्रस्ताव राखे पनि बैठकले अस्वीकार गरेको बैठकमा सहभागीहरूले बताएका छन्।

चाडपर्वको समयमा सबैतिर आउजाउ सहज बनाउन जिल्लाका मुख्यदेखि ग्रामीण र कच्ची सडकहरूलाई पनि चलायमान बनाउन मर्मत कार्यका लागि सम्बन्धित स्थानीय तहलाई बैठकले अनुरोध गरेको छ। खोटाङलाई पुष्पलाल मध्य पहाडी लोकमार्गले सदरमुकाम दिक्तेलदेखि पश्चिमतर्फ त्रिधार्मिकस्थल हलेसी हुँदै घुर्मीसम्म र पूर्वतर्फ चखेवाभञ्ज्याङ हुँदै भोजपुरसम्म छोएको छ। 

पूर्व–पश्चिम दुवै खण्डमा सो लोकमार्ग मर्मत गर्न तथा दिक्तेलदेखि उदयपुर सदरमुकाम गाईघाट जोड्ने सगरमाथा लोकमार्गको पनि आवश्यक मर्मत गर्न सम्बन्धित योजना कार्यालयसँग आग्रह गर्दै पत्राचारसमेत गरिएको छ।

चाडपर्व मात्र नभएर बाहैमास जिल्लामा खाद्यान्न, लत्ताकपडालगायत उपभोग्य सामग्री भित्र्याउनुपर्ने हुनाले सडक बाटो सहज नभए मूल्य बढ्ने हुनाले जिल्लाबासी मारमा पर्दै आएका छन्। सर्वसाधारणलाई यस्तो मारबाट बचाउन पनि सडक मर्मत समयमै गरेर यातायात आउजाउमा सहज बनाउनुपर्ने खोटाङ उद्योग वाणिज्य संघले जनाएको छ। 

प्रकाशित: ९ आश्विन २०८१ १६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App