समाज

बलु हत्याका सुटर पक्राउ

बुटवल– रुपन्देहीको देवदहका बसन्त पौडेल ‘बलु’ हत्याका मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजङ्गको भोर्लेटार घर भई पोखरा महानगरपालिका १० रामबजार बस्ने २२ बर्षीय बिबेक भनिने सुभाष गुरुङ्ग छन्। गुरुङले १ लाखको सुपारीमा पौडेललाई गोली हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। गुरुङलाई प्रहरीले मंगलबार पोखराबाटै पक्राउ गरी बुधबार बुटवलमा सार्वजनिक गरेको हो। 

पौडेललाई गोली हान्नका लागि सुभाषले १ लाख रुपैँया लिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए। गुरुङले पैसाको लोभमा पौडेललाई गोली हानी हत्या गरेको स्वीकार गरेको ज्ञवालीले जानकारी दिए। पक्राउ परेका सुभाषलाई कर्तब्य ज्यान, हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केशब भट्टराइले बताए।

गुण्डा नाइके मनोज पुनको समूहले गत पुस २१ गते रुपन्देहीको देवदह ५ खैरेनीका ४० बर्षीय व्यवसायी बसन्त पौडेल बलुको गोली हानी हत्या गरेको थियो। आफनै स मिलमा बसिरहेका बेला बिहान सबा ११ बजेतिर पौडेलमाथि गोली प्रहार भएको थियो।  

बलु हत्याका मुख्य योजनाकार मनोज पुन र सोम बहादुर आले प्रहरी इन्काउन्टरमा मारिसकेका छन्। घटनामा संलग्न अन्य दुई जना पदम चौधरी र महेन्द्र भन्ने महि नारायण चौधरी पक्राउपछि कारागार चलान भइसकेका छन्। सो घटनाका एक मात्र फरार अपराधी गुरुङ पक्राउ परेसंगै बलु हत्याको अनुसन्धान सकिएको प्रहरी प्रमुख ज्ञवालीको भनाई छ।

प्रकाशित: २१ चैत्र २०७४ १५:३० बुधबार

बलु हत्याका सुटर पक्राउ