समाज

रविलाई पक्राउ पुर्जी जारी भए/नभएकोबारे अदालत र प्रशासन तैचुपमैचुप

सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको हल्ला छ।

तर अदालत र प्रशासन यसबारे तैचुपमैचुप छन्। अदालत स्रोतका अनुसार रविलाई पक्राउ गर्न आइतबारै पक्राउ पुर्जी जारी भइसकेको छ। अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ। यसको पुष्टि भने भइसकेको छैन। अदालत स्रोतले भन्यो, ‘पक्राउ पुर्जी हिजै टाइप भएको हो। यसबारे थप प्रहरीलाई थाहा छ।’

तर कास्की प्रहरी यसबारे अनभिज्ञता प्रकट गर्छ। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले रविविरुद्ध पक्राउ पुर्जी जारी भइनसकेको बताए। उनले भने, ‘रविलाई पक्राउ पुर्जी जारी भएको छैन। अहिले आएको बजार हल्ला मात्र हो।’

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले भने रविलाई पक्राउ पुर्जी जारी भए/नभएकोबारे बोल्न नमिल्ने बताए। उनले भने, ‘यसबारे बोल्न मिल्दैन। हाम्रो धारणा हिजै सार्वजनिक गरिसकेका छौं।’

कास्की प्रहरीले आइतबार साँझ छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइएको जनाउँदै अन्य कसैलाई पनि पक्राउ पुर्जी जारी नभएको भन्दै विज्ञप्ति जारी गरेको थियो।

प्रकाशित: ७ आश्विन २०८१ १६:३२ सोमबार