समाज

मधेसमा जितियाको उल्लास: महिलाहरूको ३६ घण्टे निर्जला अनुष्ठान सुरु

जितियाको पहिलो दिन नहाय खाय गर्न जलाशयमा व्रती महिलाहरु। तस्बिरःनागरिक

‘तोहर माय खर जितिया कैने छलौ तें बाँची गेले’(अर्थात् तिम्रो आमा जितिया व्रत बसेकी थिइन्,त्यसैले तिम्रो ज्यान जोगियो ) सन्तान कुनै दुर्घटनाबाट बाँचेपछि मधेसी समाजमा भनिने लोकप्रिय उखान हो यो।  पौराणिक र मौलिक यो उखानले जितिया व्रतको महिमा, फल र फाइँदालाई दर्साउँछ।

नहाय–खाय अर्थात् पवित्र जलाशयहरुमा स्नान तथा पूजा गरी मधेसी तथा थारु महिलाहरूले मनाउने कठिन पर्व, जितिया सोमबारदेखि सुरु भएको छ। बिहानैदेखि व्रती महिलाहरु जलाशय तथा पोखरीमा स्नान गर्न व्रती महिलाहरूको भिड छ। प्रत्येक वर्ष भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परम्परा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ।

तीन दिवसीय यस कठिन पर्वको पहिलो दिन व्रतीहरू ‘नहाय खाय’अर्थात नुहाएर खान्छन्। दोस्रो दिन बिहान सूर्य उदय हुनु पूर्व ‘अंगुठन’ गर्छन्। अंगुठन यस व्रतको रोचक पक्ष हो। बिहानै काग कराउनुअघि व्रतीहरू घिरौँलाको पातमा च्युरा दही, केरा, अमोट (आँपको रसबाट बनाएको परिकार) आदि प्रसाद चढाई प्रसादको रुपमा ग्रहण गर्छन्।

यो व्रत पवित्रताका साथ मनाइने हुँदा व्रतीहरू स–साना बालबालिकालाई यसको प्रसाद पर्यन्तबाट टाढा राख्छन्। व्रत बसेको अवधिमा मुखले सिन्कासम्म टोक्नु हुँदैन । व्रत बसेको अवधिमा थुकसम्म निल्न नहुने मान्यता छ।

व्रतको दोस्रो दिन व्रतीहरू पवित्र जलाशयमा स्नान गरी ‘जिमुतवाहन’को कथा श्रवण गर्छन्। कथामा व्रतको फलबारे जानकार पण्डित/पुरोहित वा प्रौढ महिलाले व्रतीहरूलाई कथा सुनाउँछन्। 

अन्य पर्वको पूर्व सन्ध्यामा चोखो खाने चलन भए पनि जितिया पर्वको पूर्व सन्ध्यामा भने ‘माछ– मरुवा’(माछा र कोदोको रोटी) खाने चलन छ। जसलाई ‘माछ–मरुवा ’ पनि भनिन्छ।

सोमबार राति अर्थात् मंगलबार बिहान उज्यालो हुनु अगाडि करिब ४ बजेको सेरोफेरो सम्ममा ओंगठन खाएर उपवास सुरु गर्नुपर्ने हुन्छ। बुधबार साँझको ५ बजेपछि मात्र अर्थात् ३७ घण्टा ४ मिनेटपछि मात्र पारन (खान) मिल्ने हुन्छ।

‘धियापुताके ठैग सुताबी, अपना खाए भैर थारी’ अर्थात् केटाकेटीहरुलाई केही खान्न भनी ठगेर सुताउने तर आफू चाहिँ टन्न खाने भन्ने उखान पनि जितियामा प्रचलित छ। रातको समयमा ओङ्गठन खाने भएर नै त्यसो भनिएको हो।

मधेसी र थारु समुदायमा व्रत बस्नु अघिल्लो दिन महिलाहरू माइती पुग्ने गर्छन्। यो पर्वका लागि माइतीबाट छोरीहरूलाई विशेष निम्तो दिने चलन छ। माइतीमा सबै दिदीबहिनी एक ठाउँमा जम्मा भई सुखदुख साट्दै यो पर्व मनाउने चलन छ। यो पर्व साथीत्व, मेलमिलाप गर्ने पर्व पनि हो।

नेपालको जनगणना २०७८ अनुसार जितिया मनाउनेहरूको जनसंख्या कुल जनसंख्याको करिब २६ दशमलव ६५ प्रतिशत अर्थात् ७७ लाख ७० हजार भन्दा बढी जनसंख्या रहेका छन्।

यो वर्ष त्यस्तै थारु, राजवंशी तथा खवासले मनाउने गरेका छन्। मधेसी समुदाय अन्तर्गतका यादव, तेली, कोइरी, मलाह, ब्राह्मण, कायस्थ, चमार, मुसहर, खत्वे, धानुक, नुनिया, सुडी, हलुवाई, कामत, कलवार, केवट, रौनियार, देव, दुसाध, झागड लगायत ४८ भन्दा बढी जातीय समुदायले मनाउँछन्। 

जितियाको महिमा

शुर्यनारायण सत्यनारायण मरबैता क्याम्पस सिरहामा मैथिली भाषाका प्राध्यापक उमेशकुमार झाका अनुसार भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए। उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए। तिनै भगवानले पुत्रको रक्षा गरून् भनी नेपालको मिथिला क्षेत्र र उत्तर तथा पूर्व भारतमा जितिया श्रद्धापूर्वक मनाइन्छ।

यस पर्वमा आमाहरू आफ्ना सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै चौबीस घण्टा वा अझै बढी निर्जला व्रत बस्छन् जो ‘जितिया व्रत’ नामले प्रख्यात छ। निर्जला व्रतमा पानी पिउन पनि वर्जित हुन्छ। यसरी अन्नपानी केही नखाई आफ्ना सन्तानको सुखशान्ति र चिरायुका लागि आमाहरूले व्रत बस्छन्।

यस पर्वसँग जोडिएका धेरै रोचक कथा रहेको प्राध्यापक झा बताउँछन्। जिमूतवाहनको नामबाट नै जितिया भएको विश्वास छ। एक पौराणिक कथाअनुसार जिमूतवाहन नामका एक गन्धर्व राजा राजकाज त्यागेर आफ्ना बाबुको सेवा गर्न जङ्गल गए । जङ्गल घुम्दै गर्दा उनले एक जना शोकाकुल वृद्धालाई देखे।

उनले महिलालाई शोकको कारण सोधे। महिलाको शोकका कारण उनको एक मात्र छोरालाई गरुडलाई बुझाउनुपर्ने भएकाले थियो। महिलाका अनुसार उनी नाग वंशकी छोरी रहेको र उनको एक मात्र छोरा रहेको बताइन्। उनले गरेको भाकलका कारण उनको सो एक मात्र छोरालाई भोलि गरुडलाई भेटी चढाउनुपर्ने भएकाले शोकमा रहेको बताइन्।

जिमूतवाहनले ती वृद्धाको छोरो बचाउने वाचा गरे। भोलिपल्ट ती महिलाले भेटी चढाउने ठाउँमा गए अनि तिनका छोराको साटो आफूलाई नै गरूडसामु समर्पण गरे। गरूडले खान खोज्दा उनी तर्सिएनन्, प्रसन्न र अभय पो देखिए। त्यस्तो अभय अवस्था देखेर गरूडले उनको परिचय मागे।

जिमूतवाहनले विस्तारपूर्वक आफ्नो परिचय दिए। उनको निर्भीकता र उदारताबाट गरूड प्रसन्न भए। गरुडले त्यसउप्रान्त बली नलिने र जिमूतवाहनको उपासना गर्ने आमाहरूका सन्तानको सुरक्षा र हित हुने वरदान दिए। यसै घटनापछि महिलाले जिमूतवाहनको उपसना गर्दै जितिया सुरू गरेको भनाइ पनि छ।

जितियासँग जोडिएको अर्को कथा ‘चिल र स्यालको कथा’ छ। नर्मदा खोलाको किनारमा पाखरको एउटा रूख थियो। त्यस रूखमा एउटा माथिपट्टि पोथी चिलको बास थियो। त्यसको फेदमा पोथी स्यालको बास थियो। ती दुवैको आपसमा खुब मेल थियो । खोला नजिकको गाउँमा महिलाहरू असोजको कृष्ण पक्षमा जिमूतवाहन भगवानको प्रार्थना गर्दै निर्जला व्रत बस्ने गरेको चिल र स्यालले थाहा पाए।

उनीहरुले पनि गाउँका महिलाहरूले झैँ व्रत बस्ने निर्णय गरे। दुवै (स्याल र चिल) ले व्रत सुरू गरे। सोही दिन एक व्यापारीको छोराको मृत्यु भयो। साँझमा दाहसंस्कार गरेर सबै फर्केपछि बाँकी रहेका लास खाएर स्यालले व्रत तोड्यो । तर चिलले व्रत पूरा ग¥यो।

अर्को जन्ममा चिल र स्याल दिदीबहिनी भएर जन्मिए। चिल (दिदी)को शिलवती र स्याल (बहिनी)को  नाम कपुरावती रह्यो। कपुरावतीको बिहे त्यसै राज्यका राजा मलायकेतुसँग भयो। शिलवतीको बिहे बुद्धिसेन नामका साधारण व्यक्तिसँग भयो। जिमूतवाहन भगवानको व्रत पूरा गरेकी शिलवतीले सात जना सुन्दर पुत्र जन्माइन्। कर्पुरावतीले पनि पुत्र जन्माइन् तर जन्मनासाथ मृत्यु हुने भएकाले जीवित कोही रहेनन् । कर्पुरावतीको मनमा इषर््या उत्पन्न भयो।

उनले दिदीका छोराहरूलाई मार्ने षड्यन्त्र पनि रचिन्। तर भगवान जिमूतवाहनको व्रत उपसना गरेको कारण शिलवतीका सातै जना छोराहरू जीवित नै रहे। कपुरावती अन्तिममा यसको कारण पत्ता लगाउन दिदीको घर पुगिन्। दिदीले पूर्वजन्ममा चिल र स्यालको जुनीमा रहेका आफूहरू दुवै दिदीबहिनीले भगवान जिमूतवाहनको व्रत बसेको कुरा स्मरण गराइन्। आफूले व्रत पूरा गरेको र बहिनी कपुरावतीले बिचमै व्रत तोडेको पनि सम्झाइन्। उनले त्यही व्रत पूरा गरेको प्रतापले आफ्ना छोराहरूको रक्षा भएको कुरा पनि बहिनीलाई सुनाइन्। त्यसै बेलादेखि आमाहरूले भगवान जिमूतवाहनको पूजा आराधना सुरू गर्दै जितिया पर्व थालेको जनविश्वास छ।

जितिया र जिमूतवाहनको चर्चा महाभारतमा पनि गरिएको छ। महाभारत युद्धको क्रममा अश्वत्थामाको छलबाट हतप्रभ भएकी द्रौपदी धौम्य ऋषिकहाँ पुगिन् र आफ्नो व्यथा सुनाइन्। पुत्रको मृत्युको भयले पीडित द्रौपदीको दुःख सुनेर धौम्यले सत्ययुगमा भगवान नारायणको तपस्या गरेर वरदान पाएका सत्यवादी पुरुष जिमूतवाहनको पूजा आराधना गर्न सल्लाह दिएको प्रसङ्ग उल्लेख रहेको प्राध्यापक झा बताउँछन्।

प्रकाशित: ७ आश्विन २०८१ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App