समाज

दैलेखको विकासमा प्रजिअ भुसालको ‘स्वर्णिम हस्ताक्षर’

सेवाग्राहीसँग प्रजिअ भुसाल। तस्बिर: गोविन्द केसी/नागरिक

करिब १२ महिना दैलेखमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत खिमराज भुसाल सेवाग्राहीमैत्री कामका लागि चर्चित बनेर जिल्लाबाट विदाई भएका छन्। भुसालले आफ्नो कार्यकालमा सेवाग्राहीहरुको समस्या समाधानमा अग्रसर रहँदै उनीहरुको मन जितेका थिए।

सेवाग्राहीको गुनासो र सुझाव सुन्नका लागि भुसालले कार्यालय समयमा हरेक दिन दिउँसो १ बजे सेवाग्राहीहरुकै ठाउँमा गएर गुनासो सुन्ने प्रचलन थालेका थिए।

प्रमुख जिल्ला अधिकारीले आफ्नै कार्यकक्षबाट बाहिर निस्केर सेवाग्राहीहरुसँग छलफल गर्न थालेपछि उनी नागरिक माझ लोकप्रिय बने। शुक्रबार गृह मन्त्रालयमा सरुवा भएर विदाई हुने दिन पनि उनले सेवाग्राहीहरुसँग बसेर गुनासो सुन्दै काम गरेका थिए।

भुसालले दैलेख आएपछि नागरिकहरुको सुविधालाई ध्यानमा राख्दै नागरिक स्वास्थ्य परीक्षण कक्ष स्थापना गरे। साथै, जिल्लाका विकास निर्माण रोकिएका बेला जनप्रतिनिधिहरुलाई समेटेर विकासका लागि संवाद कार्यक्रम पनि सञ्चालन गरे। जसकारण जिल्लाभर उनको प्रशंसा भएको थियो।

उनले स्थानीय, प्रदेश र संघबाट हुने कामहरुको दोहोरिन नदिन अन्तर-सरकारी समन्वयका कार्यक्रमहरु पनि संचालन गरेका थिए।

उनको कार्यकालमा पेट्रोलियम अन्वेषण परियोजनाको मुअब्जा वितरण, सुरक्षा व्यवस्थापन, सडक निर्माण, कर्णाली राजमार्गमा हेभी उपकरण ल्याउने काम, र कर्णाली नदीमा अड्किएका खच्चरको सकुशल उद्धारजस्ता महत्त्वपूर्ण कार्यहरु भएका थिए।

नागरिक सहायता कक्ष, दलित सहायता कक्ष, स्तनपान कक्ष, सेवाग्राही विश्राम कक्षजस्ता सेवाग्राहीमैत्री संरचनाहरू स्थापना गरेर उनले जिल्लावासीको मन जितेका थिए।

"सेवाग्राहीमैत्री सिडिओ पाएको अनुभूति भयो," सेवाग्राही दलबहादुर केसीले भन्छन् "प्रजिअ सरले सेवाको गुणस्तरबारे सोधपुछ गरेर हामीलाई निर्धक्क आफ्ना समस्या राख्न प्रेरित गर्नुभयो।"

प्रकाशित: ६ आश्विन २०८१ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App