समाज

पोखरामा श्रीमति हत्या प्रकरणः मानसिक रोगी भनेर सजाय नघटोस्

पोखरामा श्रीमती हत्याको अभियोग लागेका जहरसिंह कुँवरलाई उन्मुक्ति दिन खोजिएको पीडित परिवारले आरोप लगाएको छ।  

पीडित परिवारले व्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की शाखा र लेखनाथ शाखाको आयोजनामा पोखरामा पत्रकार सम्मेलन गर्दै पद र पैसाको प्रभावमा पारेर श्रीमती हत्या अभियोग लागेका कुँवरलाई सजाय कम गर्न खोजेको आरोप लगाएको हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय कुँवरले गत भदौ २६ गते आफ्नै श्रीमती ४० वर्षीया राधिका कुँवरका हत्या गरेका थिए। सम्बन्ध बिच्छेदको मुद्धा चलिरहेका बेला घर छाडेर निस्कन लागेकी श्रीमतीलाई उनले खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

पीडित पक्षले अनुसन्धान प्रभावित पार्न पीडक पक्षले विभिन्न हर्कत गरिरहेको आरोप लगाएको छ। हत्या अभियोग लागेका जहरसिंह कुँवरका सहोदर माईला दाजु गमबहादुर कुँवरले पद र पावरको दुरुपयोग गरेर अनुसन्धान प्रभावित गर्ने प्रयास गरिरहेको उनीहरुको आरोप छ।  

सशस्त्र प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी)बाट अवकाश भएका गमबहादुरले आफ्नो पद र शक्तिको दुरुपयोग गर्दै हत्या अभियोग लागेका जहरसिंहलाई हुँदै नभएको मानसिक समस्या देखाएर सजाय कम गराउने प्रयास गरिरहेको मृतक राधिकाकी बहिनी मेनका थापाले बताईन्। हत्या भएकै दिनदेखि गमबहादुरले अनुसन्धान प्रभावित गर्न पीडित पक्षलाई कहिले धम्क्याउने त कहिले प्रमाण मेटाउने प्रयास गरिरहेको उनको आरोप छ।

गमबहादुरलाई कुँवर दम्पतीबीचको झै झगडा पहिलेदेखि नै थाहा भएको तर मिलाउने कोसिस नगरेको मेनकाले बताईन्। ‘मेरी दिदीले पटकपटक उहाँलगायत परिवारका सबैलाई झगडा मिलाईदिन हारगुहार गर्नुभयो,’ उनले भनिन्, ‘तर कसैको सहयोग पाउनु भएन। बाँचुञ्जेल पनि अन्याय गरेको परिवारले अहिले मरेपछि पनि न्याय नदिन षडयन्त्र गरिरहेका छन्।’ उनका अनुसार घटना भएको दिन गमबहादुरलाई आफूले तपाईंले पहिल्यै सम्झाएको भए यो दिन देख्नुपर्थेन नि! भन्दा रिसाउँदै चर्कोचर्को स्वरमा ‘भयो त भयो, मैले के गर्न सक्छु र?’ भनेका थिए। 

त्यसपछि त्यहाँ उपस्थित अन्यले पीडितलाई थप पीडा हुनेगरी किन बोलेको भन्न थालेपछि उनी त्यहाँबाट भागेको उनको दाबी छ। त्यतिमात्र होईन अन्त्येष्टिमा पनि हतार गरेको उनले बताईन्। ‘पोष्टमार्टमको भोलिपल्टमात्रै अन्त्येष्टि गर्ने सल्लाह भएको थियो,’ उनले भनिन्, ‘तर राती नै हतारहतार अन्त्येष्टि गरे। यसले थप आशंका गर्न हामीलाई बाध्य बनायो।’

कुवँर परिवारलाई प्रहरीको पनि सहयोग रहेको हो कि भन्ने आशंका पीडित परिवारको छ। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले हत्या अभियोग लागेका कुँवरले मानसिक औषधी सेवन गरेको भनेर प्रचार गरेका कारण यस्तो आशंकामा बल पुगेको मेनकाले बताईन्।  

‘हत्या अभियोग लागेका भिनाजु मानसिक समस्यामा पनि हुनु हुन्थेन र मानसिक औषधी पनि खानुहुन्थेन,’ उनले भनिन्, ‘तर एसपी थापाले मानसिक औषधी सेवन गर्ने गरेको भनेर प्रचार गर्नुभएको छ। यसले गर्दा कतै मानसिक समस्या देखाएर सजाय कम गर्ने प्रयासमा उहाँको पनि समर्थन त होईन भन्ने आशंका हामीलाई लागेको छ।’

जहरसिंहले राधिकालाई योजनाबद्ध हत्या गरेको पीडित परिवारको आरोप छ। उनले पहिलेदेखि नै हत्या गर्नेभन्दै धम्क्याउने गरेको, खुकुरी किनेर राखेको र छोरालाई आज तेरो आमाको हत्या गर्छु भनेर भनेको दाबी गरिन्। तेरो आमालाई आज काटिदिन्छु, मृतकका छोरालाई उद्धृत गर्दै उनले भनिन्,‘म दश वर्षपछि जेलबाट निस्केर आउँछु। तिमी म नहुँदा स्कुलबाट घर आउँदाजाँदा बाटो किनारकिनार जानु है।’ छोराले बयानमा यो कुरा भनिसकेको र अहिलेपनि त्यो कुरा भन्ने गरेको उनले बताईन्।

पीडित परिवारले हत्या अभियोग लागेका जहरसिंहलाई आजिवन कारावासको माग गरेका छन्। मानसिक रोगी भनेर सजाय कम नगरियोस्, मृतक राधिकाकी दिदी सीमा विष्टले भनिन्,‘मिल्छ भने संविधान शंसोधन गरेर भएपनि फाँसी दिईयोस्। नभएपनि आजिवन कारावासको सजाय होस्।’ उनले छोरालाई पीडक परिवारको जिम्मा दिन नसकिने भन्दै आफूसँग राख्न पाउनुपर्ने समेत माग गरिन्।

यसैबीच, व्यूटीपार्लर एशोसियसनले पीडित परिवारसँग मिलेर आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र बुझाएको छ। व्यूटीपार्लर एशोसियसन गण्डकी प्रदेश, कास्की शाखा र लेखनाथ शाखाले आईतबार जिल्ला प्रशासन कार्यालय कास्की कार्यालय अगाडि राधिकाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। साथै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको अभियानकी अभियन्ता चिनु गुरुङले जानकारी दिईन्।  

उनले भनिन्, ‘दोषीमाथि कारवाही होस्। पद र पावरका आधारमा हत्यारालाई निर्दोष सावित गरेर नछाडियोस् भनेर दवाब दिन प्रदर्शनसहित ज्ञापन पत्र बुझाएका हौं।’ मृतक राधिका व्यूटीपार्लर व्यवसायमा रहेको र उनको चरित्रसमेत सादा र सरल रहेको भन्दै गुरुङले उनको न्यायका लागि आवाज उठाएको स्पष्ट पारिन्।

प्रकाशित: ६ आश्विन २०८१ १८:२५ आइतबार

पोखरा श्रीमति हत्या प्रकरणः