समाज

मोरङमा घरभित्रै मृत भेटिए ससुरा, ज्वाइँ फरार

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका चन्द्रबहादुर तामाङ आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन्।

६० वर्षीया तामाङको हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ बजेतिर उनकै घरभित्रको प्यासेजमा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले जानकरी दिए। उनका अनुसार तामाङ घरभित्रको प्यासेजमा रगताम्य भई भुईँमा उत्तानो अवस्थामा भेटिएका थिए।

मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार भएको बताउँदै, डिएसपी दाहालले भने, ‘शव रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पासमेत फेला परेको छ। घटनाको प्रकृति हेर्दा खुर्पा प्रहार गरी हत्या गरेको जस्तो देखिन्छ।’ प्रहरीलाई स्थानीयले घटनाको जानकारी गराएको बताइएको छ।

घरमासँगै रहेका अन्दाजी २५ वर्षीय रविन राई भने फरार रहेको बताउँदै, डिएसपी दाहालले भने, ‘रविन (छोरीका श्रीमान्, ज्वाइँ) र मृतक तामाङ (ससुरा) नाताका हुन्। घरमा दुवै जनामात्रै बस्दै आएका थिए। घटनापछि ज्वाइँ रविन फरार छन्। शुक्रबार रातिसम्म रविन घरमै रहेको खुलेको छ। उनको खोजी कार्य भइरहेको छ। रविनको घर र ससुराली घर नजिकै रहे पनि उनी ससुरालीमै बस्दै आएका थिए।’

मृतक तामाङकी श्रीमती, २ छोरा र १ छोरी (रविनकी श्रीमती) विदेशमा रहेको प्रहरीले जनाएको छ। ज्वाइँ र ससुरा दुवै जना ज्यामी काम गर्थे।

ज्वाइँ र ससुरा घरमै मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले प्रहरीलाई बताएका थिए। डिएसपी दाहालले भने, ‘शुक्रबार राति पनि दुवै जना घरमै बसेर मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मदिरा सेवनपछि केही विषयमा विवाद भएपछि हत्या भएको हुनसक्छ। फरार भएका रविन पक्राउपछि घटनाको यथार्थ आउने छ।’

शवलाई पोस्टमार्टमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। फरार रविनको खोजी कार्य भइरहेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८१ १५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App