करिब दुई किलोमिटर टाढा छ गाउँ। नियमित आवतजावत पनि हुँदैन। कहिलेकाहीं गाउँ र आफन्तसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ। लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको।
मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो। ७ वर्षदेखि उनी एकल महिला हुन् । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका पति एक्कासि बिरामी भएर थला परेपछि उनका दुःखका दिन सुरु भएका थिए।
‘श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार गर्यौं। आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन। फेरि घर ल्याएको केही समयमै उहाँले प्राण त्याग्नुभयो’, विष्नाले आँसु चुहाउँदै सुनाइन्।
पतिको निधनपछि विष्नाका सबै सपना अधुरा रहे। बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो। परिवारको सहारा टुट्यो। छिमेकीको भरोसा ढल्यो। ‘उहाँको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौं। गाउँमा बस्ने अवस्था रहेन। त्यसैमाथि घर पनि भत्कियो। अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ सर्यौं। अहिले यहाँ समाज भएर पनि नभएजस्तै जिन्दगी बिताइरहेका छौं’, उनले पीडा पोखिन्।
गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो, तर एक गाँस खानैका लागि संघर्ष गर्नुपर्ने उनलाई पेटको भोकभन्दा भविष्यको चिन्ता पिक्का लाग्यो। त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो, अहिले भने गरिब तथा एकल महिला भनेर संघसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको विष्नाले जानकारी दिइन्।
‘गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ। पहिले पहिले त साग तरकारी पनि गाउँमा पलाउँथ्यौं, कैयौं छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो। आजभोलि बर्खाबाहेक अरू समयमा पानी पाइँदैन। त्यसैले उब्जनी हुँदैन’, उनले भनिन्।
आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्नाले बताइन्। ‘बाँकी ९ महिना बेसा (अन्न किन्नुपर्ने) अवस्था छ। साउन र भदौ मात्रै अलिकति हरियोपरियो हुन्छ। बाँकी महिना त खडेरी नै हो’, उनले भने। ५६ वर्षीया विष्नाका पाँच सन्तानमध्ये कान्छी हुन् छोरी बिमला। बिमलाले अहिले ७ वर्षमा पाइला टेकिन्। उनी गर्भमा हुँदा नै बुबाको देहान्त भयो।
विष्नाले बुबाको अभाव नहुने गरी छोराछोरीलाई हुर्काइन्। आफूले जति दुःख पाए पनि छोराछोरीले त्यति दुःख नपाऊन् भन्ने विष्नाको चाहना छ, तर अभाव अभावमा गुज्रिएका परिवारलाई दुःख मेटिनु सपनाझैं हुन लागेको उनको कथन छ।
विष्ना अहिले लेकमा बसेर वस्तुभाउ पालिरहेकी छन्। चार सन्तान रिलुकै विद्यालयमा पढ्न जान्छन् भने एकजनालाई वडाध्यक्ष शिवराज बोहराले सदरमुकाम चैनपुरमा आफैंसँग राखेर पढाउन सहयोग गरिरहेका छन्।
‘गाउँमा सबैका दुःख छन्, विष्नाको परिवारलाई त अझ धेरै नै दुःख छ। बालबालिका पढ्नसमेत नपाएको हुँदा एकजनालाई आफैंसँग राखेर पढाइरहेकी छु’, वडाध्यक्ष बोहराले भने, ‘सबै बालबालिकालाई पढाउन सकिएन। गाउँमा धेरै बालबालिका शिक्षाबाट वञ्चित छन्। त्यसैमा पनि अति धेरै पीडा विष्नालाई भएको हुँदा एक बाबुलाई मैले पढाइरहेको छु।’
यी समस्या त छँदै थिए, गत वर्ष असोज १६ गतेको भूकम्पले लेकको छानोमा समेत क्षति पुर्याएपछि पीडामाथि थप पीडा थपियो। ‘पीडै पीडा भइरहेका बेला फेरि भूकम्पले पीडा दियो’, विष्नाले भनिन्, ‘आफ्नो भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ ! एउटा च्यातिएको त्रिपालको सहारामा एक साता खुला ठाउँमा काट्यौं। पालिकाले अरू भूकम्पपीडितका जस्तै हाम्रा लागि पनि सानो टहरा बनाइदिएपछि केही सहज भयो।’
भूकम्प आएपछि धेरैले सहयोग गर्ने वचन दिएको उनी सम्झन्छिन्। ‘धेरैले सहयोग गर्ने भने पनि एउटा संस्थाले १५ हजार रुपैयाँ सहयोग गर्यो। सोही रकमबाट चामल किनेर चार-पाँच महिनासम्म खायौं। अरू समस्या त छँदै थियो। वासकै पनि समस्या थपिएपछि घर न घाट जस्तै भएका थियौं। पछि स्थानीय सरकारको समन्वयमा टहरा पाएका छौं। बस्ने व्यवस्था भएको छ’, उनले भनिन्।
-रासस
प्रकाशित: ५ आश्विन २०८१ ०७:५९ शनिबार