समाज

जलवायु न्यायका लागि प्रदर्शन

जलवायु अभियन्ताहरूले जलवायु वित्तको सुनिश्चितता र जलवायु न्यायको माग गर्दै शुक्रबार काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। माइतीघरमा आयोजित प्रदर्शनमा प्रदर्शनकारीले विश्वका गरिब, जलवायु परिवर्तनका कारण सबैभन्दा बढी नोक्सानी बेहोरेका र जोखिममा रहेका राष्ट्रलाई तत्काल ५० खर्ब डलर जलवायु वित्त उपलब्ध गराउन माग गरेका छन्।

विभिन्न एसियाली राष्ट्र सहभागी रहेको ‘एसियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्ट’ नामक अभियानका सदस्य र नेपालमा जलवायु न्यायका क्षेत्रमा कार्यरत अन्य अभियन्ता प्रदर्शनीमा सहभागी थिए। नेपाल लगायत पाकिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, मलेसिया र फिलिपिन्समा शुक्रबार एकैसाथ प्रदर्शन गरिएको हो।

संयुक्त राष्ट्रसंघको जारी ७९औं महासभा तथा नोभेम्बरमा हुन लागेको संयुक्त राष्ट्रसघीय जलवायु सम्मेलन (कोप २९) को सन्दर्भमा विश्वका नेतालाई दबाब दिन प्रदर्शनी गरिएको आयोजक पक्षले जनाएको छ।

 जलवायु न्यायका लागि विकासशील राष्ट्रहरूलाई जलवायु वित्तअन्तर्गत ५० खर्ब डलर उपलब्ध गराउनुपर्ने प्रदर्शनको नेतृत्व गरेको नेपाल ट्रेड युनियन महासंघकी उपाध्यक्ष सीता लामाले बताइन्। जलवायु परिवर्तनले श्रमिक सवैभन्दा बढी प्रभावित भएको उनको भनाइ छ।

प्रदर्शनमा सहभागीले जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधनका लागि ऋण होइन अनुदान दिनुपर्ने माग गरेका छन्। प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल गैरसरकारी संस्था महासंघका अध्यक्ष राम सुवेदीले जलवायु न्यायका लागि अभियान निरन्तर अघि बढने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच अभियन्ताले जलवायु वित्त र न्यायको माग गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। मन्त्री पौडेलले नेपालजस्ता अतिकम विकसित राष्ट्रका लागि अभियान सान्दर्भिक रहेको बताए।  

प्रकाशित: ५ आश्विन २०८१ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App