समाज

ज्यान मार्ने उद्योगका फरार अपराधी बालेनका समर्थक, दरवारमार्गबाट पक्राउ

संविधान दिवसको अवसरमा बिहीवार दरबारमार्गमा आयोजित कन्सर्टबाट प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पक्षामा नारा लगाउँदै सर्वसाधारणलाई ठेलमठेल गर्ने बझाङ मष्ट गाउँपालिका स्थायी घर भएका तिलक खड्कालाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

खड्काले बालेन शाहको पक्षमा नारा लगाउँदै अरुलाई धकेलाधकेल गर्दा प्रहरीले पक्राउ गरेको थियो। ‘गतिविधि अलि अस्वाभाविक देखियो, सर्वसाधारणलाई धकेल्न थालेपछि उनलाई नियन्त्रणमा लिएको थियौँँ। तर ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेछन्’, परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले भने।

बालेनका समर्थकहरूले कन्सर्टमा आएकाहरूलाई धकेल्न थालेपछि प्रहरीले निगरानी बढाएको थियो। मेयर शाहको पक्षमा समर्थकलाई उत्तेजित बनाउने र कन्सर्टमा सहभागी भएकाहरूलाई धम्क्याउन थालेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी एक वर्ष अघि दरवारमार्गमै भएको एक घटनाको फरार अभियुक्त हुन्। प्रहरीले खोजी गरिरहेको बेला बालेनको समर्थनमा कन्सर्ट विथोल्न उनी सहभागी भएको बुझिएको छ।

‘अपराधमा संलग्न रहेको दुई वटा मुद्दा रहेछ, एउटामा आज हामी अदालत पठाउदैछौ’, एसपी अधिकारीले भने।  

प्रकाशित: ४ आश्विन २०८१ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App