समाज

खाल्डाखुल्डी पुर्न एक अर्ब

कालोपत्रे भइसकेका ६ हजार किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्न मात्र यस वर्ष संघीय सरकारले १ अर्ब रूपैयाँ छुट्याएको छ। अब एक साता (असोज १० गते) भित्र खाल्डाखुल्डी पुरिसक्ने गरी सडक विभागले तत्काल ३० करोड रूपैयाँ मातहतका निकायहरूलाई उपलब्ध गराएको छ।

विभागका महानिर्देशक रामहरि पोखरेलले दसैंको अवसरमा देशभरिका सबै सडकलाई सुरक्षित बनाउन विभागले असोज १० गतेभित्र देशभरिका सबै खाल्डाखुल्डी पुरिसक्ने अभियान सुरु भइसकेको बताए। यसका लागि कुल बजेट एक अर्ब रूपैयाँ छुट्याइएको उनले जानकारी दिए।

‘दसैंमा सडक यात्रालाई सुरक्षित बनाउन देशभरि पिच गरिएका सबै सडकमा खाल्डाखुल्डी पुरिसक्ने र सडक मर्मत गर्ने अभियान सुरु गरिसकेका छौं। ३० प्रतिशत बजेट मातहतका निकायहरूलाई उपलब्ध गराइएको छ,’ पोखरेलले भने, ‘यस अभियानमा हामीले कुनै ठाउँमा आफैंले काम गरिरहेका छौं भने कहीँ टेन्डरबाट काम गरिरहेका छौं।’

पोखरेलका अनुसार कालोपत्रे सडक मर्मत गर्न र खाल्डाखुल्डी पुर्न विभागले देशभरि दुई हजार ६ सय कामदार खटाएको छ। यी कामदारहरूलाई पहाडी क्षेत्रमा प्रत्येक चार किलोमिटर सडकमा एक जना र तराई/मधेसमा प्रत्येक ६ किलोमिटरमा एक जनाको दरले खटाइएको छ।

 यसैगरी प्रत्येक चार मजुदरको सुपरिवेक्षण गर्न एक जना सुपरभाइजर खटाइएको छ। यी कामदारहरूले नियमित रूपमा सडकको मर्मत गर्नेछन् र खाल्डाखुल्डी पुर्नेछन्।

खाल्डाखुल्डीका कारण सडक असुरक्षित हुँदै गएको व्यापक गुनासो आउन थालेपछि विभागले देशभरि खाल्डा पुर्ने अभियान सुरु गरेको हो। खासगरी दसैंको बेला सडक दुर्घटनाको सम्भावना बढी हुने भएकाले त्यसको न्यूनीकरणका लागि खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरिएको हो।

विभागका अनुसार संघीय सरकारको मातहतमा देशभरि १४ हजार ९ सय किलोमिटर सडक मर्मत–सम्भारको जिम्मेवारी तोकिएको छ। जसमध्ये करिब ६ हजार किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी करिब ९ हजार किलोमिटर सडक कहीँ निर्माणाधीन भने कहीँ ग्राभेलको अवस्थामा छ। नारायण–बुटवल र मुग्लिन–पोखरा खण्डलाई निर्माण भइरहेको सडकमा राखिएको छ।

संघीय सरकारको मातहतमा देशभरि ८० वटा राजमार्ग छन्। यी राजमार्गबाहेक प्रदेश सरकार र स्थानीय सरकारले पनि सडक निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएका छन्।

विभागका उपमहानिर्देशक तथा सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालका अनुसार पिच गरिएका कुल ६ हजार किलोमिटर सडकमा देखिएका र सबै खाल्डाखुल्डी जोड्ने हो भने एक लाख ६७ हजार वर्गमिटर क्षेत्रफल हुने गरेको छ।

उनका अनुसार असोज १० गतेसम्म विभागले सबै खाल्डाखुल्डी पुरिसक्ने, एकतर्फी सञ्चालन भएका सडकलाई दुई तर्फी सञ्चालन गर्ने, पहिरोलगायत विभिन्न कारणले एकतर्फ पनि सञ्चालन नभएका सडकलाई दुईतर्फी सञ्चालन गर्ने योजना विभागले अघि सारेको छ।

उनका अनुसार बिहीबारसम्म देशभरिका सडकमध्ये दुई सय ४६ किलोमिटर सडक एकतर्फी सञ्चालन भइरहेको छ। असोज १० गतेसम्म सडकमा उत्पन्न भएका सबै अवरोध हटाउने योजना विभागले अघि सारेको छ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले सडक विभागले असोज १० गतेसम्म डिभिजनको मातहतमा रहेका सबै खाल्डाखुल्डी पुरिसक्न निर्देशन गरेको बताउँदै उक्त निर्देशनअनुसार आफूहरूले काम सुरु भइसकेको बताए। काठमाडौं उपत्यकामा रहेका सडकको स्तरोन्नति तथा मर्मतसम्भार गर्न भनेर ३० भन्दा बढी निकायले हेर्ने गरेका छन्।

प्रकाशित: ४ आश्विन २०८१ ०६:३६ शुक्रबार

# One billion to fill the gap # Kalopatre