समाज

इटहरीमा फेरि जङ्गली हात्तीको विध्वंस, गाउँले त्रासमा

फाइल तस्बिर

जङ्गली हात्तीको समूहले इटहरी वडा नं. २ का देवराज घिमिरेको बुधबार राति घर भत्काएको छ। सोही ठाउँका राम खतिवडाको भन्साघर भत्काएको छ।

केही दिनअघि मात्र वडा नं. २ कै नरबहादुर सुनुवारको पनि हात्तीले घर भत्काएको थियो। सोही बस्तीका अरु तीन परिवारको पनि घर भत्काएको थियो। इटहरी वडा नं. २ को माथिल्लो चारकोसे जङ्गल छेउछाउमा जङ्गली हात्तीले श्रृखलाबद्द रुपमा घर भत्काउने र बालीनाली क्षति पु¥याउने क्रम बढीरहेकाे छ।

इटहरी वडा नं. २ मा कहिले पाँचदेखि सात वटा र कहिले २५ वटा सम्मको हात्तीले बस्तीमा प्रवेश गरी आतंक मच्चाउँदा ज्यान जोगाउने चिन्ताले सताएको छ। अघिल्लो मंसिर दोस्रो साता जङ्गली हात्तीको समूहले आक्रमण गर्दा इटहरी वडा नं. २ मा २५ वर्षे रविन खड्काको मृत्यु भएको थियो। जसले गर्दा पनि हात्तीको त्रासले गर्दा इटहरीको विशेष गरी वडा नं. २ का बासीन्दा रातभरि निदाउँदैनन्।

विशषेगरी, जङ्गल क्षेत्र आसपासका बस्तीमा तीन वटा कारणले हात्ती लोभिने गरेको पाइएको छ। पहिलो जङ्गल क्षेत्रमा बग्रेल्ती बास झयाङ्ग भएकाले बासको मुना (तामा) हात्तीका लागि लोभिने आहारा भएकाले गर्दा बढी मात्रमा आउने गरेको स्थानीयको अनुभव छ। अर्कातिर ग्रामीण क्षेत्रमा कतिपय परिवारले घरेलु रक्सी बनाउने भएकाले गर्दा त्यसको वासनाले गर्दा पनि बढी मात्रमा हात्ती बस्तीमा प्रवेश गर्न खोज्ने गरेका छन्। तेस्रो इटहरी वडा नं. २ क्षेत्रमा केरा खेती भएकाले गर्दा पनि हात्ती त्यसतर्फ लोभिने गरेका छन्।

हात्ती धपाउनका लागि स्थानीय बासीसँगै प्रहरी पनि दिनैपिच्छे खटिने गरेका छन्। इटहरी वडा नं. ३ मा रहेको ताल तलैया प्रहरी चौकीका असई प्रल्लाद बोगटीले प्रहरीले रातिभरि जङ्गल क्षेत्रमा गस्ती गर्ने गरेको बताए।

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङ्गल हुँदै चारकोसे जङ्गलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन्। नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन्। यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिँडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए। 

प्रकाशित: ३ आश्विन २०८१ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App