समाज

संविधान दिवसको पूर्व सन्ध्यामा मैदान सरसफाइ

संविधान दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवा स्थित बुद्धपदम उमाबिको खेल मैदानमा सरसफाइ अभियान चलाइएको छ।

संविधान दिवस जिल्ला मूल समारोह समिति, स्वास्थ्य कार्यालय, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, सुरक्षाकर्मी, नागरिक समाजको सहभागितामा खेल मैदानमा सरसफाइ अभियान चलाइएको हो।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अगुवाइमा रहेको टोलीले प्रशासन कार्यालय देखि जिल्ला सरकारी वकिल कार्यालयसम्मको सडकमा रहेका फोहर संकलन गरेको थियो।

समन्वय समिति प्रमुख आचार्यले संविधान दिवसको अवसर पारेर जिल्लाकै नमुनाका रुपमा रहेको बुद्धपदम उमाबिको खेल मैदानमा सरसफाइ गरिएको बताए। तारबार र संरक्षण नगरिँदा खेल मैदान फोहर र छाडा चौपायको बासस्थल समेत बनेको छ।

यहाँ विभिन्न कार्यक्रम समेत गरिँदा खेल मैदान फोहर बनेपछि अभियान नै चलाइएको आचार्यले बताए। उनले खेल मैदानलाई संरक्षण गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा सहायक प्रजिअ भबिस्वर घिमिरेले सार्वजनिक स्थल सफा र सुन्दर राख्ने दायित्व सबैको रहेको बताए। संविधान दिवसका अवसरमा बिहीबार बिहान तौलिहवामा प्रभातफेरी कार्यक्रम समेत राखिएको छ। यस्तै, जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन, राष्ट्रिय झन्डा फहराउने लगायतका कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८१ १५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App